बारामा उपेन्द्रलाई हराउन सीके राउत र प्रभु साहबीच गोप्य सहमति!

बारा २ को उपनिर्वाचनको मतदानको एक दिन अघि यहाँको राजनीतिक अंकगणित निकै पेचिलो बनेको छ । सप्तरीमा उपेन्द्र यादवलाई लज्जास्पद हराएका जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बारा २ मा समेत उनलाई रोक्न रातारात नयाँ मोर्चा बनाउन सफल भएको विश्वस्त स्रोतले जनाएको छ ।

बारा २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका अध्यक्ष डा राउतले शनिवार आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रभु साहको समर्थन लिन सफल भएको दाबी स्रोतहरुले गरेका छन्।

आजपा निकट स्रोतका अनुसार शनिवार सीके राउत र प्रभु साहबीच झण्डै दुई घण्टा चलेको गोप्य बैठक पछि यो सहमति भएको हो। कलैया स्थित एक पत्रकारको घरमा गोप्य बैठक भएको स्रोतले जनाएको छ।

यस बैठकबारे पुष्टि गर्न खोज्दा जनमतका अध्यक्ष सीके राउत र प्रभु साह दुबै खुलेर यस विषयमा बोल्न चाहेनन्। तर जनमत र आजपाका अध्यक्ष निकट नेताहरूले यसको पुष्टि गरेका छन्।

आम जनता पार्टी बारा जिल्लाका एक जना पदाधिकारी अनुसार राउत र साह बीच पटक पटक पहिले पनि भेट भएको तर आजको बैठकमा ठोस सहमति भएको बताए।

सीके राउत र प्रभु साहबीच जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आसन्न उपनिर्वाचनमा जसरी पनि पराजित गर्ने सहमति भएको हो। उपेन्द्र यादवका कारणले नै आफूले नेकपा एमाले परित्याग गर्न बाध्य भएको बताउँदै प्रभु साहले आफ्नो कारणले उपेन्द्र जिते त्यसको अपजश लिन तयार नभएको कुरा आफ्ना निकटका पार्टी नेतालाई बताएका छन् ।

जनमतका अध्यक्ष सीके राउतले पनि आफूले ठूलो मतान्तरले उपेन्द्र यादवलाई पराजित गरेको तर चोर बाटो हुंदै संसद छिर्ने दाँउमा रहेकोले जसरी पनि उपेन्द्रलाई हराउन कम्मर कसेको बताएका थिए। आजपा स्रोतले दिएको जानकारी अनुसार सीकेले प्रभु साहलाई उपेन्द्र यादवलाई चुनावमा पराजित गर्न सहयोग गरे आउने दिनमा कार्यगत एकता हुंदै पार्टी एकता गरि राजनीतिक कोर्स अघि बढाउने प्रस्ताव गरेका थिए।

सीके राउतको प्रस्तावमा आफ्नो सहमति रहेको बताउँदै प्रभु साहले आइतवारको मतदानमा जनमतका उम्मेद्वार शिवचन्द्र कुशवाहालाई मतदान गर्न गोप्य सर्कुलर जारी गर्ने प्रतिबद्धता जनाएको साह निकट नेताले जानकारी दिएका छन्।

उपेन्द्रलाई पराजित गर्न दक्षिणको दबाबमा जनमत र आजपा बीच सहमति भएको आशंका जसपाका नेताहरूको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर