सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित : सेना

आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरू सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

सो मिसनमा नेपाली सेनाका दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एक जना अधिकारी छन्। उनीहरू हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एक जना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उनले जानकारी दिए।

सुडानमा सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच गत अप्रिल १५ देखि भीषण लडाइँ भइरहेको छ।

दुई पक्षबीचको लडाइँमा हालसम्म कम्तीमा ४२० जनाको मृत्यु र ३,७०० जना घाइते भएको विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युद्ध चर्किएसँगै विभिन्न देशले आफ्ना कूटनीतिज्ञहरूलाई सुडानबाट फिर्ता लगिरहेका छन्।

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहान र मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जारी द्वन्द्वले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्यूत गरेपछि बुरहान र डगालोबीचको शक्ति संघर्षले लिएको उग्र रूपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो।

सुडानमा नागरिक शासन कसरी पुनःस्थपाना गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ। आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ।

सुडानमा जारी युद्ध लामो समयसम्म चर्कने चेतावनी विश्लेषकहरूले दिएका छन्। युद्धविरामका लागि क्षेत्रीय एवं विश्वव्यापी रूपमा आह्वान भए पनि सम्बद्ध पक्षले त्यसलाई बेवास्ता गरेका छन्। विश्व शक्ति राष्ट्रले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गरेका छन् तर त्यसको सुनुवाइ भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर