उपनिर्वाचन-२०८०

तनहुँ-१ उपनिर्वाचन : कांग्रेस छाडेर स्वर्णिमले तोडे कांग्रेसकै विरासत

तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेकोसहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए।

यसैगरी राप्रपाकी शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन्।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो।

तनहुँ-१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो।

विजयी वाग्ले हालै कांग्रेससँगकाे लामाे पारिवारिक विरासत त्यागेर रास्वपाबाट चुनाव लडेका हुन्।

कांग्रेसको प्रभाव क्षेत्र तनहुँ-१ मा भट्टराईको पराजयसँगै एक सिट गुमाएर प्रतिनिधिसभामा अब कांग्रेस ८८ सिटको शक्ति भएको छ।

यस क्षेत्रमा कांग्रेस नेतृत्वले भट्टराईलाई जिताउन हरसम्भव प्रयास गरेको थियो।सभापति शेरबहादुर देउवाले ६ वैशाखमा तनहुँको डुम्रेबजारमा आयोजित सभाबाटै भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका थिए। देउवाको त्यो घोषणामा समर्थन जनाउँदै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि भट्टराईलाई मन्त्री बनाउने आश्वासन दिएका थिए।

भट्टराईको पक्षमा मत माग्न प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायत नेता लिएर देउवा डुम्रे पुगेका थिए।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा त २० चैतमा मनोनयन दर्ता भएलगत्तै भट्टराई जिताउन लागिपरेका थिए। अरू कांग्रेस नेताहरूको यो क्षेत्रमा भीड नै लागेको थियो।

सत्ता गठबन्धनका अरू दलका नेताहरू पनि उत्तिकै सक्रिय भएर लागेका थिए। तर, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूसहित सिंगो नेतृत्वले अपिल गर्दा पनि रास्वपाका वाग्लेले चुनाव जितेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर