उद्योग क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न पहल सुरु गर्छु : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा वर्तमान समयमा अघोषित लोडसेडिङको समस्या समाधान गर्न आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विराटनगरमा मंगलबार आयोजित कोशी प्रदेशका उद्योग संघ र संगगठनका प्रतिनिधिहरूसँग छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

मुख्यमन्त्री कार्कीले भने, ‘यसका लागि संघीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्काल नै कुरा गर्ने तथा व्यवसायीसँग आवश्यक छलफल एवं भेटघाटका लागि पहल गर्नेछु।’

उनले उद्यमीहरूले लिएको ऋणको ब्याजदर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग आफ्नो कुरा भएको स्मरण गराउँदै पुनः यस सम्बन्धमा उद्यमीहरूको टोलीसँग संघीय सरकारका अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरलाई छलफल गराउने विश्वास दिलाए।

उनले भने, ‘उद्योग व्यवसाय क्षेत्रका कुन-कुन नीतिलाई प्रथामिकता दिनुपर्ने र के कस्ता नीति निर्माण गर्दा तपाइँहरूका समस्या समाधान हुन्छन्, बजेट निर्माणका क्रममा मलाई सुझाव दिनुहोस्।’

उनले मुलुकले सरकारी, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको मूल आधार मानेको स्मरण गराउँदै अहिले सहकारी क्षेत्र धारासाही भएको तथा निजी क्षेत्र पनि कमजोर हुँदै गएकाले अर्थतन्त्र कमजोर हुने अवस्थामा पुगेको बताए।

राष्ट्रिय पुँजीको पर्याप्त विकास नभई समाजवादमा पुग्न नसकिने कुराको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगहरूको समस्या समाधानमा उचित व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको जानकारी गराए।

उद्योग सञ्चालनका क्रममा देखिने विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारको क्षेत्रअधिकारभित्र पर्ने कार्यलाई आवश्यक विधिविधान बनाउने तथा संघीय सरकारसमक्ष समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले निजी क्षेत्र बलियो, सुदृढ र चिन्तामुक्त भए मात्र मुलुकको आर्थिक विकास एवं समृद्धि कायम हुने हुनाले यसप्रति आफू सचेत रहेको र केन्द्रीय नेताहरूलाई समेत सचेत गराएको बताए।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश नामकरणका सम्बन्धमा पहिचानवादीले गरेको विरोध प्रदर्शन एवं गालीगलौच र दुर्व्यवहार विषयमा उद्योगी व्यापारी एवं विराटनगरवासीको स्पष्ट धारणा आउनुपर्ने बताउँदै प्रदेश सरकारले राखेको प्रदेशको नामका सम्बन्धमा गल्ती वा ठीक गरेको विषयमा जनतासमक्ष जानकारी दिन आग्रह गरे।

छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्यमीले उद्योग बन्द गर्न चाहेमा त्यसको वातावरण मिलाइदिन अनुरोध गर्दै सरकारले निर्माणाधीन पूर्वाधारहरूलाई चाँडै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिए।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले विद्युत प्राधिकरणले उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्नुपर्ने वा लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने बताए।

होटल संघ कोशीका राजन श्रेष्ठले यस क्षेत्रमा पर्यटक आवागन वृद्धिका लागि विराटनगरबाट लुक्ला हवाई सेवा सञ्चलन गर्न पहल गर्नुपर्नेमा जोड दिए।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राज्यबाट उद्यमीहरूले कुनै सहयोग नपाएका कारण युवाहरू उद्योग व्यवसाय क्षेत्रमा आउन डराइरहेको बताए।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष भीम घिमिरे, संघका पूर्वअध्यक्षद्वय पवन शारडा र प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीलगायतले बैंकले निक्षेपमा ब्याज घटाएअनुसार ऋणमा घटाउनुपर्ने, भन्सार मूल्यांकन समायोजन गरी सीमाक्षेत्रको नेपाली बजार गुलजार बनाउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर