प्रधानमन्त्रीले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयो : एमाले नेता भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले देशको शान्तिसुरक्षामा देखापरेका चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्तिसुरक्षामा देखापरेका चुनौतीका विषयमा ध्यानाकर्षण गराएको हो।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

उनले मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्तिसुरक्षा कस्तो छ भन्ने स्पष्ट पारेको बताए।

उनले गृहमन्त्रीसँग आफूहरूले आक्रमण गर्नेलाई तत्काल कानूनी दायरामा ल्याई कारबाही गर्न आग्रह गरेको पनि बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नै अराजक गतिविधि गर्नेहरूलाई प्रोत्साहित गरेको आरोप लगाए।

उनले प्रदेश नामकरण कानूनी रूपबाट टुंग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठीक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको जिकिर गरे।

नेता भट्टराईले वैशाख ७ गते दिनदहाडै कपनको सरस्वतीनगरमा व्यवसाय गरेर बसेकी नीरा आचार्यको हत्या भएको ८ दिन बितिसक्दा समेत दोषी पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

उनले वर्तमान सरकार एकपछि अर्को असफलतामा गुज्रिरहेको बताए।

उनले वर्तमान गठबन्धन सरकारले आफ्ना न्यूनतम कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर