सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौं : महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।

शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्।

उनले सांसदहरूले खादा-माला लगाउन र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गर्दै सांसदहरूले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए। उनले अरू हेर्ने विभाग भए पनि अनुसन्धान, आविष्कार, नवप्रवर्तन गर्ने विभाग नभएको भन्दै आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।

उनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिनिुपर्ने माग राखे। उनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए।

पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरू पूरा गर्नका लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको बताए। उनले आफूले यो आन्दोलन मनलाग्दी रूपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिबद्धता जनाए।

उनले संसारमा नवप्रवर्तन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर