महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगे लिङ्देनसहितका राप्रपा नेता

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माइतीघर मण्डलामा अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यबद्धता जनाएको छ ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले धर्ना कार्यक्रमस्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरेको हो।

त्यस अवसरमा लिङ्देनले देशका लागि सुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशवासीलाई अपिल गरे। अध्यक्ष लिङ्देनले सो आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे।

उनले सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्ने गरी आन्दोलनको आँधीबेरी सिर्जना गर्न पनि सिंगो देशवासीलाई आग्रह गरे। अध्यक्ष लिङ्देनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए।

अध्यक्ष लिङ्देनले देश र सन्ततिको भविष्यका लागि वैज्ञानिक पुनले राखेका माग सम्बोधन गर्न ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरे।

त्यस अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गरे। उनले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफूहरूले सो आन्दोलन गर्नु परेको पनि बताए।

केन्द्रका संस्थापक पुनको अगुवाइमा सुरु भएको सो आन्दोलनमा वरिष्ठ चिकित्सक गोविन्द केसीलगायतले पनि आजै ऐक्यबद्धता जनाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *