ममाथिको आक्रमण प्रयासमा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको बताएका छन्।

पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरूमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गर्दै त्यस्ता उद्दण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरेको पनि बताए।

हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुंगा हान्ने, कहीँ भिडन्त गर्न आउने गरेको तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उनको भनाइ छ।

ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरूले आफूमाथि आक्रमण प्रयास गरे पनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाए। उनले वर्तमान गठबन्धन सरकारले मुखले जेसुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाए।

आफूहरूमाथि गाली बेइज्जती, अश्लील शब्दको बर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताए।

ओलीले फटाहा, मूर्ख र बुद्धि नभएकाहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणीसमेत गरे। स्वार्थी तत्त्व र बिकाउ मालहरू, अपराध कर्ममा लागेकाहरूले मात्रै राजतन्त्रलाई मान्ने उनको आरोप थियो।

अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबीसमेत गरे। बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतिलाई खारेज गरेर आफूहरूले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याएको ओलीको भनाइ थियो।

उनले महाकाली सन्धि आफूहरूले सच्याएपछि त्यसबाट अनेक फाइदा भइरहेको पुरानै अडान दोहोर्‍याए। उनले महाकाली सन्धिलाई सच्याउने काम आफूहरूले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरूले पछि बुझ्दै जाने बताए।

अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले भारतलाई जमिन दिने गरी गरेको सम्झौतालाई होइन भनेर नेपाली जनतालाई ढाँट्ने काम गरेपछि त्यसलाई सच्याउने काम आफूहरूले गर्नु परेको समेत बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर