देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाइसकेका छन् : शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइततबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी गराइएको हो ।

वैशाख दास्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीहरूले पाठ्यपुस्तक प्राप्त गरिसकेका मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताए । यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६-१० का लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरूबाट कक्षा १-५ का लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ गरी ७७ वटै जिल्लाका सूचीकृत १ हजार २६७ स्थानीय बिक्रेताहरूमार्फत बिक्री वितरण भइरहेको उनले बताए ।

उनले पाठ्यपुस्तक नपुगेका ठाउँमा सम्पर्क भएको मितिले २ दिनभित्र सबैभन्दा नजिकको बिक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि जानकारी दिए । उनले ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान जारी रहेको उल्लेख गरे ।

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता शर्माले काठमाडौं महानगरपालिकाले विद्यालयको नामकरणका सम्बन्धमा गरेको पछिल्लो निर्णय महानगरपालिकाको अधिकारको विषय भएको बताए । उनले स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्न, विद्यालय गाभ्न, स्थानान्तरण गर्न र आवश्यक परेमा बन्द पनि गर्न सक्ने बताए ।

उनले काठमाडौं महानगरपालिकाको निर्णयको आधिकारिकता भने मन्त्रालयमा आइनसकेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर