२०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी ती भ्रष्टरूलाई कारबाही गर्ने बताएका हुन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छट्टै आयोग गठन गरी भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताए। अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उनले बताए।

प्रधानमन्त्री दाहालले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरू फेरि बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री दाहालले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दाबीसमेत गरे। उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखि बनाउन आफूले विशेष ध्यान दिएको पनि बताए।

उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उनले त्यसका लागि आफू लडिराखेको पनि बताए।

प्रधानमन्त्री दाहालले बहिर्गमित लडाकुहरूलाई २ लाखका दरले राहत दिने निर्णय आफूले नगरेको पनि बताए। अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसलाअनुसार आफूले उनीहरूलाई राहत दिन लागे पनि स्याल हुँइया मच्याउन खोजिएको बताए।

प्रधानमन्त्री दाहालले यो परिवर्तन उल्ट्याउने गरी स्यालहरू कराउन थालेको भन्दै त्यसको प्रतिरोध गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।
प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन बलिदानपूर्ण संघर्ष गर्नेहरूमाथि अपमान गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई सहन गरेर बस्न नहुने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर