चीनको बहानाबाजीमा बन्द तातोपानी नाका आठ वर्षपछि दुईतर्फी खुलेपछि नेपाली व्यवसायी उत्साहित

नेपाल-चीन व्यापारिक तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। विगत आठ वर्षभन्दा बढी समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाकामा सोमबारदेखि दुईतर्फी आयात-निर्यात खुला भएको हो।

भूकम्पको बहानामा चीनले तातोपानी नाका दुवैतर्फ सञ्चालनमा अवरोध गरिरहेको थियो। भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा ठप्प थियो। सोमबारदेखि आयात-निर्यात दुवैतर्फ सञ्चालनमा आए पनि मानव आवतजावतमा भने प्रतिबन्ध कायमै छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले मानव आवतजावत तत्काल खोल्ने सम्भावना नभएको भन्दै खोल्ने विषयमा छलफल भइरहेको बताए। उनले सोमबार तोतोपानी नाका दुईतर्फी सञ्चालनमा आएसँगै नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको बताए।

उनले सोमबार करिब ३७ लाख मूल्य बराबरको सामान निर्यात भएको उनले बताए। उनले तातोपानी नाकादेखि काठमाडौंसम्म सडक मार्ग निर्माण कार्य सरकारले प्रथामिकतामा राखेको बताए।

त्यस्तै नेपाल ट्रक ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले तातोपानी नाका ८ वर्ष १६ दिनमा सञ्चालनमा आउँदा खुसी लागेको बताए। उनले तातोपानी नाका अब पूर्ण रूपमा सञ्चालनमा आउने आशावादी भएको बताए। उनले सरकारले नेपाली सामान निर्यातको लागि कूटनीतिक पहल गर्न आवश्यक रहेको बताए।

त्यस्तै व्यवसायी विजय शेर्पाले तीन ट्रक मुढा र म्याट्रेस चीनले तामझाम गरेर लगेको बताए। उनले भन्सार नाका दुईतर्फ सञ्चालनमा आएसँगै निर्यात बढ्ने आशा रहेको बताए। उनले योभन्दा पहिला बिस्कुट, सलाई, मैदा, कस्मेटिक सामान जस्ता सामानहरूको माग भइरहेको बताए।

त्यस्तै अर्का निर्यात व्यवसायी अनिरुद्र थापाले लामो समयपछि तातोपानी भन्सार नाका दुईतर्फ खुला भएसँगै निरन्तर रूपमा पूर्ण सञ्चालनमा आउने अपेक्षा गरेको बताए। उनले नाकाको दुवैतर्फका संरचना राम्रो बनेको भन्दै दुवैतर्फका सवारी साधान सञ्चालनमा समेत सहजता रहेको बताए।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार सोमबारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात-निर्यात खुल्ला भएको हो।

भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा समय-समयमा अवरोध हुँदा करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र हुँदा साना र मझौला व्यापारीहरूलाई ठूलो समस्या पर्ने गरेको थियो। नाका दुवैतर्फ सञ्चालनमा आएसँगै नेपाल-चीन आयात र निर्यातमा सहजीकरण हुने भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर