प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन्।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैटौं सञ्चार तथा सूचना प्रविधि दिवस मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएकी हुन्।

उनले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको बताइन्। त्यस्तै सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पुर्‍याउने गरी कार्यक्रम सञ्चालन भइरहेको पनि जानकारी गराइन्।

मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावलीलगायतका कानूनी व्यवस्थाका लागि सरकार लागिरहेको बताइन्।

उनले सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरवलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चारसम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानूनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको पनि उल्लेख गरिन्।

उनले सुशासन सरकारको प्राथमिकतामा रहेको बताइन्। मन्त्री शर्माले देशमा भएका बेथितिहरूको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन्।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *