किरात समुदायले उभौली पर्व मनाउँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

बाली लगाउनुअघि गाउँ-गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दुमी राईले जानकारी दिए। गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि उँभो लाग्छन्।

उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले सुनाए। यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ। यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।

किरात समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही व्यक्ति जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन्। उनीहरूले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ। पूर्वी नेपालमा ब्राह्मण र क्षेत्री समुदायले पनि प्रकृति पूजाको कर्म भने गर्ने गरेका छन्।

किरात समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन्। यस समुदायले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्। यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्व हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *