एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ।

बिहीबार काठमाडौंमा एचआईभी एड्स संक्रमितहरूको मानव अधिकारका सम्बन्धमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेका हुन्।

उनले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययनअनुसार एचआईभी संक्रमितहरूले सरकारी तथा सार्वजनिक निकायहरूमार्फत विभेद भोगिरहेको पाइएको बताए। उनले विभेदमा परेकाहरूलाई प्रहरीमा उजुरी गर्न आग्रह पनि गरे।

प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न उनको आग्रह थियो। उनले एचआईभी संक्रमितहरू परिवार, समुदाय र विद्यालयहरूमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेदमा पर्ने गरेको बताए।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गरे। उजुरीउपर कठोरताका साथ कारबाही गरिने उनले बताए।

उनले नेपाल प्रहरीले चलाइरहेको ‘अल्पसंख्यकसँग नेपाल प्रहरी’ भन्ने कार्यक्रममा एचआईभी संक्रमितलाई पनि अल्पसंख्यक मानेर समावेश गराउने प्रतिबद्धता व्यक्त गरे। आगामी दिनमा एचआईभी संक्रमितहरूको पक्षमा प्रहरीले सक्रियतापूर्वक काम गर्ने पनि उनले बताए।

उनले सामाजिक चेतनालाई अभिवृद्धि गर्नेतर्फ पनि सबैले ध्यान दिनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर