अनुचित लाभमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न आईजीपी कुँवरको निर्देशन

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शान्ति-सुरक्षा कायम गर्न अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको शुक्रबार निरीक्षण भ्रमण तथा उक्त कार्यालय एवं मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन-सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्।
निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति-सुरक्षा कायम गर्न एवं अपराध अनुसन्धान तथा नियन्त्रणका लागि सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने बताए। प्रहरी कर्मचारीको काम-कर्तव्य, जिम्मेवारी, अधिकार एवं प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण तथा व्यवहारमा सुधार ल्याई संगठनको हित र विकासलाई सदैव प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।
प्रहरी काम-कारबाहीमा मानव अधिकारको संरक्षण तथा संवर्द्धन गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अनुचित लाभमा शून्य सहनशीलता नीतिलाई अवलम्बन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए। साथै उनले हिरासत व्यवस्थापनमा थप संवेदनशील भई कार्य गर्नसमेत आग्रह गरे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा सो कार्यालय मातहत इकाइमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।
साथै प्रहरी महानिरीक्षक कुँवरले जिल्ला समन्वय समितिका प्रमुख, सन्धिखर्क नगरपालिकाका प्रमुख, अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी, पूर्वउपसभामुख पुष्पा भुसाल, जिल्लास्थित राजनीतिक दलका प्रमुखहरू, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरू, उद्योग वाणिज्य संघका अध्यक्ष, चेम्बर अफ कमर्शका अध्यक्ष र स्थानीय बुद्धिजिवीलगायतहरूसँग जिल्लाको शान्ति-सुरक्षा तथा समसामयिक विषयमा शुक्रबार छलफल तथा अन्तरक्रियासमेत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर