महिला हिंसा गर्नेहरूलाई कडा कारबाही हुन्छ : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

आइतबार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताएका हुन् ।

महिला हिंसासम्बन्धी विगतका घटनाहरूको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने उनले बताए । अनुसन्धान गरी दोषी र अपराधीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले हालसम्म प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्दै महिलाहरूलाई अझ अधिकारसम्पन्न बनाउन सरकारले प्रयत्न गर्ने पनि बताए ।

मन्त्री श्रेष्ठले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघन र महिला हिंसाका घटनाहरूको समस्या समाधान गर्न आवश्यक नीति, निर्णय र कार्ययोजना बनाउन सरकार गम्भीर रहेको बताए । सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालका घटनाहरूको समस्या समाधान हुने भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *