भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसदलाई सो प्रकरणको सम्बन्धमा जानकारी गराउन सभामुखको रुलिङको माग गरेका थिए। संसद बैठकमा जानकारीको माग उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज कीर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनै पनि हालतमा छुट दिन नहुने बताए। उनले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्ने काम गर्न नहुने बताए।

प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठले कोशी प्रदेश नामकरणको सम्बन्धमा संघर्ष समितिले गरेको शान्तिपूर्ण आन्दोलनको कार्यक्रममा सरकारले दमन गरेको भन्दै दमन गर्ने सोचले निकास नदिने बताइन्। उनले आन्दोलनकारीसँग छिटोभन्दा छिटो वार्ता गर्न सरकारलाई आग्रह गरिन्।

उनले दमन गरेर शान्तिपूर्ण आवाजलाई निर्मूल गर्न सकिन्छ भन्ने कुरा नसोच्न चेतावनीसमेत दिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *