प्रधानसेनापति बृहत् विज्ञान प्रदर्शनीमा किष्ट कलेज प्रथम

काठमाडौंको बाँसबारीस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयको १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने बृहत् विज्ञान प्रदर्शनीमा काठमाडौं इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (किष्ट कलेज) प्रथम भएको छ। किष्ट कलेजको आर्टिफिसियल इन्टेलिजेन्स प्रोजेक्ट प्रदर्शनीमा प्रथम भएको हो।

यस्तै सैनिक आवासीय महाविद्यालय पोखराको एग्रोबोट डिफेन्स सिस्टम द्वितीय, नेपाल पुलिस स्कुल साँगाको आईईडी डिस्पोजल सिस्टम तृतीय भए। विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको वेस्ट अफ इनर्जी म्यानेजमेन्ट सिस्टम र सेन्ट मेरिज स्कुल जावलाखेलको हर्ट ट्रान्स्प्लान्ट उत्कृष्ट प्रोजेक्ट व्यवस्थापनको रूपमा छनोट भए।

छनोट भएका प्रोजेक्टहरूलाई आज प्रधानसेनापति प्रभुराम शर्माले पुरस्कार वितरण गरेका थिए। यसका साथै उनले प्रदर्शनी अवलोकन गरेका थिए।

बलाध्यक्ष रथी सीताराम खड्काले वैशाख २५ गते उद्घाटन गरेको उक्त प्रदर्शनीमा देशभरिका विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल ४२ वटा विद्यालयका १५५ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो। रिपुमर्दिनी सैनिक महाविद्यालयले वि.सं. २०७७ सालबाट सुरु गरेको प्रधानसेनापति बृहत् विज्ञान प्रदर्शनीको यो तेस्रो संस्करण हो।

प्रदर्शनीको विभिन्न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारण गरी दुई हजार जना भन्दा बढीले अवलोकन गरेका थिए। प्रा.डा. रामेश्वर अधिकारी, डा.ई. शंकर ढकाल र प्राविधिक प्रमुख सेनानी विष्णु भक्त गौतमसहितको मूल्यांकन समितिले प्रोजेक्ट छानेको हो।

वि.सं. २०६३ सालमा स्थापित रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, बलाध्यक्ष रथी सीताराम खड्का र उपत्यका पृतनापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपरथी सागरबहादुर थापाले पनि त्यस अवसरमा विभिन्न विधामा उत्कृष्ट छात्रछात्रा, विद्यालय र शिक्षक-कर्मचारीहरूलाई पुरस्कार वितरण गरेका थिए।

देशभरिका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरू सम्मिलित यस प्रकारको बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने विश्वास लिइएकोछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर