रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । आज ज्योतिषीहरूले हेरेको शुभ साइतअनुसार जेठ ८ गते रथ लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो ।

लगनखेलबाट जावलाखेल रथ तान्ने शुभ साइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीहरूले बताएका छन् । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पत्ति, शान्ति, समृद्धिलगायत सबै कुरा मागे पनि मेरो रूप रङ राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन् । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो ।

मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथ यात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गरेको किंवदन्ती छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *