सिंगापुर, माल्दिभ्स र दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

विभिन्न देशमा पठाएर आकर्षक रोजगारीमा लगाइदिने भन्दै प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले उनीहरूलाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको हो।

सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१०, नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला बुधबार राति पक्राउ परेका छन्।

निरौलासमेतले १२ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर पठादिने प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी ९५ लाख रुपैयाँ ठगी गरेको आरोप छ। उनी सिनामंगलबाट पक्राउ परेका हुन्।

यस्तै माल्दिभ्स पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-३२, जडिबुटी, नरेफाँट बस्ने ४६ वर्षीय अञ्जन सिग्देल बिहीबार नरेफाँटबाट पक्राउ परेका छन्।

त्यसैगरी दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रसुवाको कालिका गाउँपालिका-८, धुसेनी घर भई काठमाडौं महानगरपालिका-३, बसुन्धारा बस्ने ३८ वर्षीय होमबहादुर तामाङ बुधबार साँझ बसुन्धाराबाट पक्राउ परेका छन्।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *