सुर्तीजन्य पदार्थमा कर बढाई गरिबको निःशुल्क उपचार गर्छौं : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

हेलम्बु-३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए। उनले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभियान सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि बताए।

मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए। साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसका लागि पहल गर्ने पनि बताए।

कार्यक्रममा वाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम गरेको बताए। उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकारसमक्ष सिन्धुपाल्चोकका समग्र समस्या अवगत गराउँदै आएको पनि उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर