रोमानिया र कम्बोडिया पठाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ

प्रहरीले विदेशमा आकर्षक तलबसहितको रोजगारी मिलाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको हो।

रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बागलुङको बागलुङ नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-९, जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मा आइतबार साँझ पक्राउ परेका छन्।

विकसमेतले ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई प्रतिष्ठित कम्पनीहरूमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

यस्तै कम्बोडिया पठाइदिन्छु भन्दै १६ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३, माकलबारी बस्ने २९ वर्षीय सिद्धार्थ तामाङ पनि आइतबार नै पक्राउ परेका छन्।

तामाङसमेत २ जनाले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाई क्यासिनोमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोप छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *