यसरी खुल्यो ९ किलो सुन तस्करीको रहस्य

त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको करिब ९ किलोग्राम सुन तस्करीको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विस्तृत अनुसन्धान गरिरहेको छ। यस तस्करीमा सहयोग गरेको आरोपमा सीआईबीले हालसम्म विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासहित चार जनालाई पक्राउ गरेको छ भने अन्य केहीकाे खाेजी भइरहेकाे जनाएकाे छ।

उक्त सुन विद्युतीय चुरोट (ई-सिगरेट) भित्र राखेर तस्करी भएको खुलेको छ। भन्सार चेकजाँचका क्रममा विद्युतीय चुरोट (भेप्स) समातिएपछि छुटाउन प्रयास गर्दा झन्डै ९ किलो बराबरको सुन आएको भेटिएको हो।

प्रहरीका अनुसार भेप्सभित्र आएको सुन नासु खड्काले बिचौलियासँग मिलेर साटफेर गरेर न्यूरोडमा बिक्री गरेका थिए। पक्राउ परेका अरूमध्ये एक जना सुन बिक्री गर्न जाने बिचौलिया हुन् भने दुई जना सुन खरिद गर्ने र गाल्ने व्यक्ति हुन्।

ब्यूरोका प्रहरी अधिकृतका अनुसार १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित चेकजाँचका क्रममा बिहान ९:१० बजे बरामद भएको थियो। ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो।

सुर्तीजन्य पदार्थ भएका कारण लिलाम नहुने भएकाले थन्किएर बसेको भेप्सबारे केही व्यक्ति आएर पटक-पटक सोध्न थालेपछि भन्सा अधिकृतलाई शंका भएको थियो।

सो क्रममा भन्सार पुगेका व्यक्तिलाई त्यहाँका अधिकारीले त्यसबारे अनुसन्धान भइरहेको बताएपछि तस्करीमा संलग्न व्यक्ति त्यहाँ जान छाडे।
पटक-पटक व्यक्ति आउन छाडेपछि भन्सार प्रशासकहरूलाई शंका लागेर सुटकेश हेर्दा सामान फेरिएको देखियो। स्रोतका अनुसार पहिले जाँच गर्दाका फोटोहरूसँग तुलना गर्दा सामान फरक रहेको देखियो।

त्यस क्रममा गोदाम व्यवस्थापनमा खटिने नायब सुब्बा खड्कालाई बोलाएर भन्सारका हाकिमहरूले सोधपुछ गरेका थिए। लामो केरकारपछि उनले आफूले सामान्य ठानेर लिलाम भएको अरू सामानसँगै त्यो ‘रिप्लेस’ गरेर दिएको बताएका थिए। त्यसपछि विमानस्थल भन्सार कार्यालयले ब्यूरोमा जाहेरी दिएको थियो।

प्रहरीले तस्करी भएको सुन भने बरामद गर्न सकेको छैन।

ब्यूरोका एक प्रहरी अधिकृतका अनुसार ६ करोड रुपैयाँमा नासु खड्कासहित बिचौलियाले सुन बिक्री गरेको खुलेको छ। बिक्री गर्न खोजिएको १०० ग्राम मात्र सुन बरामद भएको छ र अरू खोजी भइरहेको उनले बताए।

प्रतिक्रिया

One thought on “यसरी खुल्यो ९ किलो सुन तस्करीको रहस्य

  1. ल म भन्छु, यो केस सिर्फ एक ना.सु को हैसियतले हुने काम होईन, तसर्थ अब बिस्तृत जाचहुन आबस्यक छ.त्यो कार्य इमानदारी पुर्बक भये अझै थुप्रै कुहियेका हरामी हरु नेस्तनुबुद हुने पक्का पनि छ! तर,मेरो चिन्ता सिर्फ एउटा मात्रै छ, ईमान्दार र देशभक्त चरीत्रहरु ओझेल मा परेको हाम्रो माहोल मा तेस्ता रास्ट्र्द्रोही हरुलाई कस्ले कारबाही गर्ने ह्याउ राख्छन होला त!! पर्खौ र हेरौ हुन्न त?
    जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर