‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज-२०२३ का लागि विभिन्न दश विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वी विल राइज फाउन्डेशनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।

फाउन्डेशनले गत वर्ष फागुन १२ देखि यस वर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । आयोजकले बेस्ट भिडियो अफ द इयर, जजेज च्वाइस अवार्ड, स्टोरी कन्सेप्ट/बेस्ट डिरेक्सन, विमन भिडियो मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मोस्ट पोटेन्सियल डेस्टिनेशन, मोस्ट एनर्जेटिक भिडियो मेकर, बेस्ट स्क्रिप्ट/भ्वाइस ओभर, बेस्ट सिनेमाटोग्राफर र बेस्ट एडिटर गरी विभिन्न दश विधामा मनोनयन गरेको हो । प्रत्येक विधामा सात-सातवटा भिडियो मनोनित गरिएको छ ।

वृत्तचित्र छनौट टोलीमा निर्देशक भूषण दाहाल, अभिनेत्री करिश्मा मानन्धर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, निर्देशक तथा सिनेमाटोग्राफर सबनम मुखिया, नेपाल पर्यटन बोर्डकी म्यानेजर अर्चना केसी राना, नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशी (पर्यटन बोर्डका पूवसीईओ) र वी विल राइज फाउण्डेशनका निर्देशक निर्मल श्रेष्ठ निर्णायक छन् ।

उत्कृष्ट भिडियोहरूमध्ये बेस्ट भिडियो अफ दि इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक/एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज-२०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले वी विल राइज फाउन्डेशन र नेपाल टेलिभिजनको सयुंक्त आयोजनामा जेठ १३ गते साँझ राष्ट्रिय सभागृह, काठमाडौंमा हुनेछ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *