फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ : अभिनेता दयाहाङ राई

फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताएका छन्।

शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म मौलिक स्वादमा निर्माण भएको बताएका हुन्।

‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुबी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं,’ उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेका छौं। मैले अभिनय गरेको राम्रा चलचित्रहरूमध्ये यो पनि एक हुनेछ। मौलिक विषयवस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको छ चलचित्रमा।’

संचारकर्मीहरू सँगको कुराकानी गर्नेक्रममा हाल प्रदर्शनमा रहेको ‘जारी’मा झल्किएको लिम्बु समुदायको संस्कृतिमा जस्तै नीरफूलमा पनि त्यस्तै सांस्कृतिक स्वाद पाइने बताए।

‘चलचित्रमा म छोरी खोज्दै हिँडिरहेको हुन्छु,’ उनले भने, ‘तर खोज्दै जाँदा त मेरो गाउँ नै पो हराइसकेको रहेछ।’

अभिनेता राईले सन् १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सँधै बाँचिरहने फिल्ममा काम गर्न मन लागेको पनि सुनाए।

‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ,’ उनले भने, ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ।’

तीन वर्ष अघि कोरोना महामारीको कारण रिलिज रोकिएको यो चलचित्र फूलमान वलले निर्देशन गरेका हुन्। चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले बताए। भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय छ।

यो फिल्म जेठ २६ गतेदेखि प्रदर्शनीमा आउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *