भारतको ओडिशामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३०० नजिक, १००० बढी घाइते

भारतको पूर्वी क्षेत्रमा अवस्थित ओडिशा राज्यको बालासोर जिल्लामा शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३०० नजिक पुगेको छ।

दुर्घटनामा हालसम्म कम्तीमा २८८ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। सीएनएनका अनुसार एक हजार जनाभन्दा धेरै घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुई यात्रुवाहक र एक मालवाहक रेल एकआपसमा ठोक्किँदा उक्त हताहति भएको हो।

रेलहरू एकआपसमा ठोक्किएपछि रेलका केही बग्गी लिकबाट पल्टिएका थिए।

दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजार स्टेसननजिकै भएको हो।

दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन्। भारतमा भएको शताब्दीकै याे सबैभन्दा भयानक रेल दुर्घटना हो।

दुर्घटनास्थल पुगेका भारतीय रेलमन्त्री अश्विनी वैष्णवले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन्। त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए। उद्धारका लागि घटनास्थलमा २०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर