भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसका लागि आरोपीहरूलाई लगियो अदालत

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपीहरूलाई उपस्थित गराइएको हो।

काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो। थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने÷नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहित फरार रहेका ३० जनाविरुद्ध संगठित अपराध, कीर्ते, ठगी र राज्यविरुद्धको अपराध गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *