राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौता

राष्ट्रिय मानव अधिकार आयोग, नेपाल र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको छ।

आज काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। अब नेपालबाट रोजगारीको लागि कतार पुगेका नेपालीहरुको मानवअधिकार हनन भएको बारेमा त्यहाँस्थित कतारकको मानव अधिकार समितिमा उजुरी दिन सकिने छ।

सम्झौतापछि राष्ट्रिय मानव अधिकार आयोग, नेपाल का.मु.सचिव मुरारीप्रसाद खरेलले कतारको मानव अधिकार समिति र नेपालको मानव अधिकार आयोगको बीच तीन वर्षको लागि एमओयु भएको बताए। उनले कतारमा काम गर्ने नेपाली कामदारहरुको हक र अधिकार संरक्षणका लागि यो सम्झौताले महत्वपूर्ण भुमिका खेल्ने बताए।

उनले कतारमा भएका नेपालीहरुको मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि बताए। उनले समितिले कतारमा रहेका नेपालीहरुको मानव अधिकारको सुनिश्चितताका लागि नेपालीहरुले काम गर्ने कम्पनीहरुको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको पनि बताए।

का.मु.सचिव खरेलले कतारको मानव अधिकार समितिसँग राष्ट्रिय मानव अधिकार आयोगले दोस्रो पटक सम्झौता गरेको र सन् २०१५ मा पनि समितिसँग सम्झौता भइसकेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर