पर्दाफास टिप्पणी

पशुपतिनाथमा प्रचण्डको दर्शन: भारत तीर्थाटनको उद्यापन !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा उज्जैनको महाकालेश्वर मन्दिरमा पूजा गरेको चर्चा नसेलाउँदै उनको पशुपतिनाथ दर्शनको विषयमा टीकाटिप्पणी सुरु भएको छ । भारत भ्रमणको क्रममा उनले महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।

महाकालेश्वरलाई १२ ज्योतिर्लिंगमध्ये एक मानिन्छ । अर्थात् महादेवकै विभिन्न स्वरुपमध्ये एक हुन्, महाकालेश्वर । त्यतिबेला मन्दिरको प्रोटोकलअनुसार प्रधानमन्त्री प्रचण्डसहित भारत भ्रमणमा रहेका अन्य मन्त्रीहरुले पनि गेरुवस्त्र लगाएर मन्दिरमा दर्शन गरेका थिए ।

यस्तै, काठमाडौंबाट लगिएको १०८ किलो विशिष्ट प्रकारको रुद्राक्ष पनि महाकालेश्वरमा चढाइएको थियो भने मन्दिरको गर्भगृहमा नै प्रवेश गरेर पूजा गराउने सौभाग्य प्रचण्डले पाएका थिए ।

तर, यता नेपालमा भने प्रचण्डले गेरुवस्त्र लगाएको विषयमा टीकाटिप्पणी सुरु भयो । कुनै बेला माओवादलाई आफ्नो प्रमुख सिद्धान्त बनाएर सशस्त्र युद्ध गरेका र धार्मिक गतिविधि, संस्कृत भाषा, मठमन्दिर तथा धार्मिक अभियन्ताविरुद्ध लागेका प्रचण्डले अहिले त्यही धर्मलाई अँगाल्ने अवस्था आउनुमा कतिपयले उनको क्रान्तिकारी छविमा आएको ‘स्लखन’ को रुपमा अथ्र्याए ।

कतिपयले भने भारतमा हिन्दूवादी बीजेपीको नेतृत्वमा सरकार भएकाले उसैलाई खुसी पार्न प्रचण्डले यस्तो गतिविधि गरे भन्ने टिप्पणी पनि गरे ।

यस्तो टिप्पणीलाई थप बल मिलेको छ, प्रचण्डको पशुपतिनाथको दर्शनले । शनिबार आफ्नो मन्त्रिमण्डलका सदस्यहरुसहित प्रचण्डले पशुपतिनाथको दर्शन तथा मन्दिर परिसर क्षेत्रको अवलोकन गरेका थिए । उनलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराएका थिए ।

पशुपति पुग्नेमा भारत भ्रमणमा गएका अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद पनि थिए । यस्तै, ऊर्जामन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुग्ने टोलीमा थिए ।

तर, महाकालेश्वरको दर्शनलगत्तै पशुपतिनाथको दर्शन भने धार्मिक यात्राको समापनको रुपमा लिन सकिन्छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डमा धार्मिक विषयलाई लिएर नरमपना आएको देख्न सकिन्छ । त्यसैले यसपटकको भारत भ्रमणमा उनले महाकालेश्वर पुग्ने निर्णय गरेका थिए ।

मन्दिर दर्शनको क्रममा गेरु वस्त्र लगाएको विषयमा उनले यो मन्दिरको प्रोटोकल भएको बताएका थिए । यस्तै, आफूले त्यसो नगरेको भए भारतीयहरुले नराम्रो दृष्टिकोणले हेर्ने पनि स्पष्टीकरण दिएका थिए ।

हिन्दू धार्मिक पद्धतिअनुसार तीर्थाटन गएर फर्केपछि आफ्नो नजिकको धार्मिक स्थलको दर्शन गरेर उद्यापन गरिन्छ । नेपालका हिन्दू धर्मावलम्बीहरुले पनि नेपाल वा भारतका विभिन्न पीठहरुको दर्शन, पूजा गरेर आएपछि स्थानीय प्रमुख धार्मिक स्थलको दर्शन, पूजा गर्छन् । तीर्थभोज आदि गरेर तीर्थाटनको विधिवत् उद्यापन गर्छन् ।

उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका थिए । यसलेपनि उनी भारत तीर्थाटनको उद्यापनका लागि पशुपति गएकाे प्रष्ट हुन्छ ।

महाकालेश्वर दर्शन गर्नु पनि एक प्रकारले तीर्थाटन नै हो । त्यसकारण यसको विधिवत् उद्यापनका लागि नेपालको प्रमुख धार्मिक स्थल र अझ महादेवकै पीठ पशुपतिनाथको दर्शन धार्मिक दृष्टिकोणले अपरिहार्य थियो, जसलाई प्रचण्डले पनि अवलम्बन गरेका छन् । प्रचण्डले मात्र नभई उनीसँगै महाकालेश्वरमा पूजा गरेका कांग्रेसबाट मन्त्री बनेकाहरु पनि एकसाथ पशुपतिनाथ दर्शनमा पुगेका छन् ।

भारतमा मात्र नभई नेपालमा पनि धर्म र राजनीति सँगसँगै देखिन थालेको छ । भारतमा हिन्दूवादी दल बीजेपी निरन्तर सरकारमा रहँदा र यसले राजनीतिमा प्रभाव पार्न थाल्दा नेपालमा पनि धर्मको विषयलाई उठाएर केही राजनीतिक दल तथा नेताहरु जनमत आफूतिर खिच्ने प्रयासमा छन् ।

प्रचण्डको हालका कदम धार्मिक राजनीति हो कि होइन, त्यो त आगामी दिनमा देखिएला तर उनको पशुपतिनाथ दर्शनलाई भने भारतमा गरिएको तीर्थाटनको उद्यापन वा समापन मान्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर