चालु आर्थिक वर्षकाे ११ महिनामा सरकारी आम्दानी र खर्च निकै न्यून

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुवाती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।

महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख रूपैयाँ बराबर छ । जुन चालु आर्थिक वर्षको सुरुआती विनियोजनको ६५ दशमलव ५६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो ।

जेठ मसान्तसम्मको चालुगततर्फको खर्च सुरुआती विनियोजनको ७४ दशमलव १५ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रूपैयाँ बराबर बजेट विनियोजन भएकामा हालसम्म रु आठ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रूपैयाँको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्ममा ४० दशमलव २४ प्रतिशत अर्थात् एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख रूपैयाँ बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख रूपैयाँ वार्षिक बजेट विनियोजन भएकामा जेठ मसान्तसम्ममा सुरुआती विनियोजनको ६३ दशमलव २४ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख रूपैयाँ बराबर खर्च भएको छ ।

जेठ मसान्तसम्मको राजस्व सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । यो अवधिसम्मका सरकारको कुल राजस्व प्राप्ति वार्षिक लक्ष्यको ६० दशमलव ३६ प्रतिशत अर्थात् आठ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख रूपैयाँ बराबर रहेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रूपैयाँ कर राजस्व, एक खर्ब सात अर्ब ७७ करोड १२ लाख रूपैयाँ गैरकर राजस्व र ५५ अर्ब ४५ लाख ८३ करोड रूपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखिएको थियो ।

जेठ मसान्तसम्मको कर राजस्व सङ्कलन लक्ष्यको ५८ दशमलव ५९ प्रतिशत अर्थात् सात खर्ब ५९ अर्ब रूपैयाँ , गैरकर राजस्व सङ्कलन ७२ दशमलव २४ प्रतिशत अर्थात् ७७ अर्ब ८५ करोड ३७ लाख रूपैयाँ र वैदेशिक अनुदान आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख रूपैयाँ बराबर रहेको छ ।

यसरी सरकारको आयभन्दा व्यय धेरै हुँदा जेठ मसान्तसम्मको बजेट घाटा दुई खर्ब ९५ अर्ब ६७ करोड रूपैयाँ बराबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर