केन्द्रीय कारागार नै अपराधको अखडा !

केन्द्रीय कारागार सुन्धारामा कैदीबन्दीहरूलाई आर्थिक तथा मानसिक शोषण र दमन गर्दै ‘अवैध धन्दा’ मौलाइरहेको भन्दै त्यहाँका केही कैदीबन्दीहरुले गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा उजुरी दिएका छन्।

उनीहरूले जेलर तथा नाइके र त्यहाँका चौकीदारहरू मिलेर कैदीमाथि दमन, शोषण र त्यहीँबाट अवैध कामहरू गरिरहेको विवरणसहित मन्त्रालय र विभागलाई दिएको उजुरीमा उल्लेख गरेका छन् ।

उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगिसकेको छ। मन्त्रालयले उजुरी दर्ता गरेर आवश्यक कारवाही अघि बढाएको स्रोतले बतायो ।

गृहमन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निजी सचिवालयमा २८ जेठमा दर्ता भएका दुई उजुरीको दर्ता नम्बर ५४७ र ५४८ रहेको छ ।

उजुरीमा उल्लेख भएअनुसार चौकिदार शान्ती तामाङ्ग, अस्पताल नाईके कोपिला मगर, हेडमास्टर निशा खनाललगायतको मिलेमतोमा कारागारभित्रै लागु औषध, चुरोट र मदिरा बेचबिखन गर्ने गरिएको छ। त्यसमा मूल नाइके रमेश भनिने बै लामाको पनि संरक्षण रहेको उजुरीमा उल्लेख छ।

कारागार भित्र यसरी लुटतन्त्र मच्चाउदै आएकाहरुलाई जेल प्रशासनलेनै संरक्षण दिएको स्रोतको दाबी छ। स्रोतका अनुसार कारागार भित्र अवैध धन्दा चलाउनेहरुलाई कारागार प्रमुख ललित बस्नेतलेनै संरक्षण दिएको कारागार स्रोतको दाबी छ । स्रोतका अनुसार प्रमुख बस्नेतले भित्र बेथीतीको बारेमा बोल्नेलाइनै अन्यत्र कारागार चलानको धम्की दिने गरेका छन्।

उजुरीमा उल्लेख भएअनुसार कारागारको प्रशासन जेलर भवनमा मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदार जस्ता कैदीबन्दीहरुको कारागार प्रशासनको जेलर भवनसम्म सहज रुपमा आवागमनको अनुमति दिइएको हुन्छ ।

उनीहरू कारागार प्रशासन जेलर भवनमा आउँदा र जाँदा पनि चेक जाँच हुँदैन। जसले गर्दा कैदी बन्दीलाई भेटघाट गर्ने वहाना बनाई बाहिरबाट आएको व्याक्ति र मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदारजस्ता कैदीबन्दीहरुको सहज भेटघाट गर्छन््।

यसैको फाइदा उठाउँदै मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदारले कारागार भित्र लागूऔषध, चुरोट र मदिरा लैजाने र १० औं गुणा महँगोमा कारागारका अन्य कैदीबन्दीलाई विक्री वितरण गरिरहेको स्रोतको दाबी छ ।

त्यस्तै कारागारका क्यान्टिन तथा पसलहरूमा पनि कैदीबन्दीहरूबाट ३ गुणाभन्दा महँगोमा सामान बेचबिखन हुने गरेको छ । उजुरीमा जनाएअनुसार कारागार भित्र कैदीबन्दीको लागि मेस तथा होटल संचालन गर्नेले सिधै बजारबाट खाद्यान्न तथा तरकारी खरिद गर्न दिइदैन्। तरकारी तथा खाद्यान्न पसल कैदीबन्दी चौकिदार प्रभाकर नरसिंह राणा र किराना पसल प्रीतम मानन्धरले सञ्चालन गर्दै आएका छन्।

मेस तथा होटललाई खरिद मुल्य भन्दा ३ गुणा बढी लिएर विक्रि गर्छन। जसले गर्दा होटल तथा मेसमा पाईन खानेकुरा महँगो हुनेगर्छ। परिणाम सरकारले प्रति कैदीलाई दिएको भत्ताले मेसमा खाएको तिर्न पुग्दैन।

यसका लागि कैदीबन्दीले घर परिवारबाट पैसा मगाउँन बाध्य भएको कारागारमा रहेको एकजना कैदीले परिवार मार्फत पर्दाफासलाई बताए ।

उनका अनुसार आफन्तहरूले कैदीबन्दीलाई दिएको रकममा समेत उनीहरूले ५० प्रतिशतसम्म ‘कमिशन’ काट्ने गरेका छन्। उनीहरूका अनुसार कैदी बन्दीका आफन्तले कैदीलाई रुपैयाँ पैसा दिन चाहे सिधै कैदीलाई दिन पाउँदैनन्। मूल नाईकेले त्यसदिन खटाएको कैदी (जसलाई स्टाफ भनिन्छ) को हातमा दिनुपर्छ।

उक्त रकम स्टाफ बसेको कैदी मार्फत पाएपछि मुल नाईकेले कमिशनको नाममा ५० प्रतिशत रकम उठाउने गरेको ती कैदीको दाबी छ ।

उजुरीकर्ताहरूले जेलभित्रै मिटर ब्याज, अनलाइन जुवा (वेटिङ) लगायतका धन्दाहरू पनि मौलाउँदै गएकोे उल्लेख गरेका छन्। ‘कारागार भित्र कैदी बन्दीलाई रुपैयाँ पैसा उधारो लिन उकास्ने र त्यस्तो रुपैयाँ पैसाको १०० बरावर मासिक ५ रुपैयाका दरले हिसाव गरी मिटर व्याज उठाउँने गरिएको छ,’ उजुरीमा उल्लेख छ ।

त्यस्तै जेलमा भएका विकृती र विसंगती तथा त्यस्ता अवैध धन्दाहरूको विरोध गर्ने कैदीबन्दीलाई धम्क्याउने, मानसिक र शारिरीक यातना दिने तथा सरुवा गर्ने र रोक्नेजस्ता कामहरू पनि हुँदै आएकोले यथासिघ्र आवश्यक कारबाहीको माग उजुरीमा गरिएको छ ।

उजुरीकर्ताहरूले कैदीहरूको सरुवामा पनि व्यापक पैसाको चलखेल भइरहेको पनि आरोप लगाएका छन्।

‘निषेधित बस्तुको विकि वितरण र महङ्गीको विरोध गर्ने उपर चौकिदार प्रभाकर नरसिंह राणा, मुल नाईक रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धर समेत भई शारीरिक तथा मानसिक यातना दिने तथा जेलरसँग मिली जेल स्थान्तरण समेत गर्ने गरेका छन्। हालसालै दिपकराज दाहाललाई नख्खु कारागार र खेम बहादुर डाँगीलाई नेपालगञ्ज कारागारमा चलान गरिएको छ’, उजुरीमा उल्लेख छ ।

विकृतीका विरुद्धमा बोलेको कारणले कुटपिट समेतको शारीरिक यातना दिई निजहरुलाई चलान गर्ने गरिएको उजुरीमा उल्लेख छ । उजुरीकर्ताका अनुसार चौकिदार शान्ती तामाङ्ग, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खिनाल समेत भई पुराना कैदीहरुलाई जेलबाट सरुवा रोकिदिने भनि १ लाख देखि २ लाखसम्म रकम उठाउँने गरेको दाबीसहित उक्त रकम जेलरसम्म पुग्ने गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

One thought on “केन्द्रीय कारागार नै अपराधको अखडा !

  1. जेल भित्र हुने तेस्ता बेथितिहरु समयमै र अझ उजुरी समेत परेपछी एक उच्चस्तरीय छानबिन आयोग गठन गरेर जो चाहिने काम गर्न अति आबस्यक छ। नत्र, अन्य मुलुक हरु मा येस्तो हुने कुकार्य ले बिस्फोट हुने भैई धेरै धन जन को नोक्सान र छ्यति हुनेगरेका घटना बाट सरकार ले शिक्षा लिन र आबस्यक कार्य येथासिघ्र सुरु गर्न उचित होला कि!! @#NPPF# जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *