बाढी-पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पूर्वी नेपालमा गएराति आएको भीषण बाढी-पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रूपैयाँ बराबरको क्षति भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका हुन्।

‘ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्,’ उनले भने, ‘म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’

मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी दिए। त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरू खोजी, उद्धार र राहतमा सक्रियताका साथ लागेका छन्।

मन्त्री ज्वालाले भने, ‘ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ। विद्युतसम्पर्क पनि टुटेको छ। अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ,’ उनले भने।

मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ। सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उनले जानकारी दिए। बेलिब्रिज जडान नभएसम्मका लागि सतहबाट नै डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न लागिपरेको उनकाे भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर