नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन्।

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले यथास्थितिका सौन्दर्य-चेतनाले मात्रै अब नपुग्ने भन्दै नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरूरी रहेको बताए।

प्रधानमन्त्रीले नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै सङ्घीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताए।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान २०७२ को मर्म र भावनाअनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवर्द्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा-प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औंल्याए।

उनले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य-चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र सफल हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *