कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विष्टसहित १२ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

भीमदत्त नगरपालिकाले आ.व. ०७७/७८ मा नदीजन्य पदार्थको ठेक्कामा नियमविपरीत छुट दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेकाे देखिएपछि उनीविरूद्ध मुद्दा हालिएकाे अख्तियारका प्रवक्ता भाेला दाहालले जानकारी दिए।

तत्कालीन नगरप्रमुख विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीलगायत १२ जनाविरूद्ध मुद्दा दर्ता भएकाे हाे।

नियमानुसारको राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृतिबिना कार्यदलको सिफारिसको आधारमा राजस्व रकम घटाई कम अंक सम्झौता र नियमविपरीत राजस्व रकममा छुट तथा मु. अ. कर चुहावटसमेत गरी ३ करोड ३३ लाख २२ हजार ५८१ रूपैयाँ चुहावट गरेको आरोपमा पूर्वमेयर विष्ट र प्रमुख पशासकीय अधिकृत भट्टविरूद्ध मुद्दा दायर गरिएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेतले राजस्व कबोल अंक घटाई भवानी कन्स्ट्रक्सन प्रालि, कञ्चनपुरसँग ठेक्का सम्झौता गर्दा मु.अ. कर दुई करोड एघार लाख पैसठ्ठी हजार ६ सय आठ रूपैयाँ ८५ पैसा रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा सोही रकम बिगो कायम गरी मुद्दा दायर भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *