खोटाङमा अस्पतालसहित ७ वटा स्वास्थ्य भवन निर्माण, ४ वटा सडक स्तरोन्नति

सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले खोटाङमा एउटा अस्पतालसहित सातवटा स्वास्थ्य भवन निर्माण गरेको छ।

आयोजनाले आर्थिक वर्ष २०७९/०८० मा करिब २० करोड रूपैयाँको लगानीमा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा सुविधासम्पन्न भवन निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ। आयोजनाले सो भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य लिइएको जनाइएको छ।

यसै आर्थिक वर्षभित्र आयोजनाले तीनवटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ। केपिलासगढी गाउँपालिकाको बासपानीमा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा र ऐँसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा स्वास्थ्य चौकी भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको आयोजनाका खोटाङका साइट इन्जिनियर सुशीलकुमार चौधरीले जानकारी दिए।

ऐँसेलुखर्क गाउँपालिकाको बाकाचोलमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम ७० प्रतिशत सम्पन्न भइसकेको चौधरीको भनाइ छ।

जन्तेढुंगा गाउँपालिकाको देवीस्थान, खोटेहाङ गाउँपालिकाको वाप्लुखामा स्वास्थ्य चौकी भवन निर्माण कार्य धमाधम भइरहेको र त्यहाँ ८५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएकाे छ।

यस्तै सडकतर्फ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नेर्पा मिलनचोकदेखि सिरूवास-मेवाखोलासम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकै पाथेका-चिमचिमादेखि सिरूवास सडक स्तरोन्नति, हलेसी तुवाचुङ नगरपालिकाको बडहरेस्थित डाँडागाँउ-लक्ष्मी मावि हुँदै घोपाटार-माझीगाँउ जोड्ने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाको भनाइ छ।

हलेसी तुवाचुङ नगरपालिका बडहरेस्थित बुद्धेखोला हुँदै लेक-बुङ्देल-बोझे जोड्ने सडक स्तरोन्नतिको ८५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम धमाधम भइरहेको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका आयोजना प्रमुख डा. युवराज पौडेलले खोटाङमा सञ्चालित योजनाको प्रगति उल्लेख्य भएको बताएका छन्। ‘हामीले यस आर्थिक वर्षमा खोटाङमा ११ वटा योजना सञ्चालन गरेका थियौं। धेरैजसो सम्पन्न भइसके र बाँकी रहेका केही योजना यसै आर्थिक वषैभित्र सम्पन्न गर्छौं र केही योजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ पौडेलले भने।

‘विकासका काममा आलटाल गर्ने कुरामा कसैसँग कम्प्राेमाइज हुँदैन। कामको जिम्मा लिने निर्माण कम्पनीले काम तीव्र रूपमा र गुणस्तरीय गर्नुपर्छ भनेर ताकेतासँगै अनुगमन पनि हामीले निरन्तर गरिहेका छौं,’ पौडेलले थपे।

बाँकी रहेका योजनाको पनि ७० प्रतिशतभन्दा माथि काम सम्पन्न भइसकेको उनले जानकारी दिए। उनले भने, ‘सुविधासम्पन्न जिल्ला अस्पतालको भवन निर्माण कार्य पनि तीव्र गतिमा निर्माण भइरहेको छ।’

जिल्लामा गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको भनाइ छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको जिल्ला आयुर्वेद कार्यालय हुँदै भुते जोड्ने सडक, दोर्पा-दुम्ली सडक, हाटडाँडा-काफ्लेगाउँ सडक, जन्तेढुंगा गाउँपालिकाको वोपुङ-डुम्रीबोटे हुँदै वंशिलाघाट जोड्ने सडक स्तारोन्नतिको काम धमाधम भइरहेकाे आयोजनाको दाबी छ। गत आर्थिक वर्षका अन्य योजनाको पनि काम भइरहेको र चाँडै सम्पन्न गर्नमा ध्यान दिइएको आयोजनाले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *