पोखरालाई ‘स्टेशन’ बनाएर सीमावर्ती हिमाली जिल्लामा प्रभाव विस्तार गर्दै चीन

चीनले नेपालको पश्चिमी क्षेत्रस्थित पोखरालगायत भूभागलाई लक्षित गरेर आफ्नो प्रभाव विस्तार थालेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ऋण दिएर सहयोग गरेको चीनले पोखराका साथै आफ्नो सीमा जोडिएको मनाङ, मुस्ताङसम्म प्रभाव विस्तारको योजना सुरु गरेको हो ।

हाल चीनले नेपालका धेरै ठूलो परियोजनाको जिम्मेवारी लिएर काम गरिरहेको छ भने चिनियाँ व्यवसायी काठमाडौंको ठमेल, पोखरालगायत पर्यटकीय क्षेत्रमा होटल रेष्टुराँ सञ्चालन गर्दै पर्यटकीय क्षेत्रमा आक्रामक रुपमा उपस्थिति जनाइरहेका छन् । अब पोखरा र मनाङ, मुस्ताङ जस्ता कोरला नाका जोडिएका क्षेत्रमा पनि चीनले प्रभाव विस्तार गर्ने भएको छ ।

नेपालमा पछिल्लो समय चीनको बढ्दो गतिविधिका कारण भूराजनीतिक जटिलता पनि बढेको छ । अहिले चीनले प्रभाव विस्तार गर्न लागेको क्षेत्र अमेरिका, पश्चिमा मुलुकहरुले पनि चासो दिएको क्षेत्र हो । ती क्षेत्रमा चीनको प्रभाव बढेमा विभिन्न गैरकानुनी गतिविधि हुनसक्ने उनीहरुको चासो छ । नेपालका लागि भने उक्त क्षेत्रमा चीन वा अन्य कुनै देशको पनि उपस्थिति राम्रो हुने छैन ।

चीनको योजना अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सम्झौता भए अनुसार भाषा शिक्षा र नागरिक देखि नागरिकसम्म योजनालाई अघि बढाइदैं छ । देशका ठुला सहरमा केन्द्रित रहेको यो योजना गाउँ–गाउँसम्म फैलाउने चीनको योजना रहेको छ । यसलाई समेत चीनका राष्ट्रपति सी चीनपीङको अवधारणा ग्लोबल सिभिलाइजेशन इनिसियटिभ (जीसीआई) सँग जोड्ने उसको योजना रहेको सरकारी स्रोतको भनाइ छ ।

याे पनि : बीआरआई र जीसीआईमा नेपाल सहभागी भएको ‘प्रोपोगाण्डा’गर्दै चिनियाँ राजदूत, सरकार मौन

यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि आवश्यक उपकरण तथा हातहतियार विक्रीवितरण तथा सहयोगमा समेत चीनले प्रयास गरिरहेको छ । यी गतिविधिलाई उसले राष्ट्रपति सीकै अवधारणा ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सँग जोड्ने योजना बनाइरहेको छ ।

चीनको महत्वकांक्षी योजनाबाट टाढा रहेको नेपाललाई उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कार्यकालमा पुरा गर्ने योजना बनाएको सरकारी अधिकारीहरु बताउँछन् । यसका लागि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा सम्झौता हुन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हालको चीन भ्रमण यसकै लागि भएको दाबी सरकारी स्रोतको छ । मन्त्री श्रेष्ठ हाल चीन भ्रमणमै छन् ।

चीनले पोखरालगायत क्षेत्रमा उपस्थिति बढाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गर्ने भएको छ । उक्त विमानस्थल नेपालले चीनको एक्जिम बैंकसँग ऋण लिएर बनाएको हो । सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट)सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यो महँगो ब्याजदर हो । अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋणको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

तर, यो ऋण तिर्न भने नेपाललाई हम्मे पर्न भएको छ । विमानस्थल सञ्चालन गरेर नाफा कमाई नेपालले ऋण तिर्नुपर्ने हो । तर, सञ्चालन भएको ६ महिना पुग्दा पनि अझै पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको छैन । निर्माणकै क्रममा विभिन्न विवाद भएको यो परियोजनालाई बीआरआई प्रोजेक्टअन्तर्गत निर्माण भएको भनेर चीनले थप विवादित बनाइरहेको छ ।

जबकि बीआरआई योजना आउनुअघि नै पोखरा विमास्थलको काम सुरु भएको थियो । सन् २०१२ मा नेपाल र चीनबीच विमानस्थल बनाउनेबारे समझदारी भएको थियो । त्यतिबेला विना प्रतिस्पर्धा ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्रयाक्ट’ (ईपीसी) मोडेलमा विमानस्थल बनाउन सिधै चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो । जब कि बीआरआई योजनाको सुरुवात सन् २०१५ बाट भएको हो ।

याे पनि : पर्यटन र शिक्षाका कार्यक्रमलाई जबर्जस्ती जीएसआई र जीसीआईमा जोड्दै चीन

नेपालले आफ्नो बाह्य तथा आन्तरिक ऋणका कारण आगामी आर्थिक वर्षको बजेटमा पूँजीगत खर्चभन्दा बढी वित्तीय व्यवस्थापन बजेट छुट्याएको छ । यसको अर्थ सरकारले लिएको ऋणको सावाँब्याज तिर्न नै सरकारलाई मुस्किल पर्न थालेको छ । त्यसैले पोखरा विमानस्थललाई ‘श्रीलंकाको हम्बनटोटा बन्दरगाह’ जसरी चीनले सञ्चालनको अनुमति माग्न सक्छ । श्रीलंकाले हम्बनटोटा बन्दरगाह चीनको ऋणमा बनाएको थियो । तर, ब्याज तिर्न नसकेपछि चीनलाई सञ्चालनको जिम्मा दिएको छ । यसले श्रीलंकाको अर्थतन्त्र समस्यामा पार्न मुख्य भूमिका निर्वाह गरेको थियो । त्यही अवस्था नेपालको परिप्रेक्ष्यमा पनि हुनसक्ने देखिन्छ ।

चीनले पोखरा क्षेत्रमा आफ्नो सांस्कृतिक प्रभाव विस्तार गर्ने योजना पनि ल्याएको छ । त्यसको एउटा उदाहरण हो, शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ । बोड फेस्टिभल चीनमा लोकप्रिय छ । त्यही संस्कृतिलाई चीनले आफ्नो उपस्थितिमा नेपालमा पनि लागू गराउन चाहेको छ । यसैका लागि चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरेका थिए । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली पनि आएको थियो ।

यी पनि :

नेपाललाई ॠणको भार बोकाएर व्यापार गर्दै चीन

बीआरआईमा नेपालको मौनतापछि जीडीआई अघि बढाउँदै चीन

बीआरआईमा जबर्जस्ती नेपाललाई जोड्दै चीन

नेपालमा चीनको निर्लज्ज कूटनीतिक चाल

‘जबर्जस्ती कूटनीति’ अपनाउँदै चीन

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *