चिनियाँ नाका बन्द हुँदा याक बेचेर परिवार पाल्दै उपल्लो डोल्पाबासी

यार्सागुम्बाको व्यापार नभएपछि जीवन धान्नै धाै-धाै

चीनले उच्च हिमाली जिल्लासँग जोडिएका सीमानाका बन्द गरेको चारवर्षभन्दा बढि भयो । यी उच्च हिमाली क्षेत्रका बासिन्दाको व्यापारको मुख्य केन्द्र रहेका तिब्बती बजार बन्द हुँदा व्यापारमात्र होइन जनजीवन नै अस्तब्यस्त बनेको तथ्य कोही कसैबाट लुकेको छैन् ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा तथा स्थानिय निकायका बैठकहरुमा यो विषय बेलाबखत उठछ । तर निश्कर्षमा पुग्दैन् । चीनबाट पटक–पटक उच्चस्तरीय भ्रमणकोक्रम जारी छ । तर पनि उच्च हिमाली जिल्लाबासीको पीडामा कसैले मलहम लगाउन सकेको छैन् ।

भनिन्छ, नेपाली राष्ट्रवाद मौसमी छ । मौसमी राष्ट्रवादको हावाले बेला बेला नेपालीलाई जागरुक बनाउछ । तर नेपाली राष्ट्रवाद पनि विभक्त र विविध छ । यो राष्ट्रबाद उत्तरी छिमेकीको बलमिच्याईमा मौनता साध्छ । दक्षिणी छिमेकीको भवितब्यमा समेत सडक र सदनमा आगो बाल्छ । यदाकदा समुन्द्र पारीका छिमेकी बिरुद्ध पनि कुर्लन्छ ।

यहाँ हामी यही राष्ट्रवादसँग उपल्लो डोल्पाका जनताको पीडा दाज्न खोज्दैछौं ।

चिनियाँ नाका बन्द हुँदा सबैभन्दा धेरै मारमा पर्नेहरुमा माथिल्लो डोल्पाका बासिन्दा पनि हुन् । माथिल्लो डोल्पाका बासिन्दा निकै कस्टकर जीवन बाचिरहेका छन् । हिमाली जनताको पीडामा राज्य मौन छ । संघीय संसदका जनप्रतिनिधि मौनता साँधेर बसेका छन् । चीनले नाका बन्द गर्दा उत्तरी भेगका जनता प्रताडित छन् । आफूलाई आम मान्छेका हितैषी दाबी गर्ने नेपालका कम्युनिस्ट शक्तिहरु समेत मौन छन् । चीनले नाका बन्द गर्दा २५ किलो चामललाई ६ हजार रुपैयाँ तिर्न बाध्य छन् माथिल्लो डोल्पाबासीहरु ।

माथिल्लो डोल्पाले तिब्बतसँग संयौवर्षदेखि व्यापार गर्दै आएको छ । पुस्तौँदेखि त्यहाँका बासिन्दा तिब्बतमा यताका जडिबुटी लगायतका सामाग्री बेच्ने र उताबाट खाद्यान्न लगायतका आवश्यक वस्तु ल्याउने गर्थे । ४ वर्षदेखि यो व्यापार ठप्प छ । चीनले नाका नखुलाएपछि यार्सागुम्बाको व्यापार घट्यो । नाकाबन्द भएपछि याक पाल्नेहरुले ढुवानी पनि पाउन छाडे । याक पाल्नेहरुले याक बेचे । तिब्बतको नाका बन्द हुँदा माथिल्लो डोल्पाका बासिन्दाले खाद्यान्न सदरमुकाम दुनहीबाट ल्याउनुपरेको छ । २५ किलोको चामललाई उनीहरु ६ हजार रुपैयाँ तिर्छन् । एक प्याकेट नुनको २ सय रुपैयाँ ।

नाका खुलाउनका लागि संघीय सरकारले उनीहरुको गुनासो नसुनेको पीडा स्थानीय सुनाउँछन् ।

नेपालको निकै लामो पहलपछि उत्तर छिमेकी चीनले तातोपानी नाका खुलायो । २०७२ सालको भुकम्मपछि लामो समय बन्द त्यस नाका कोभिडको कारणले पनि लामै अवधिसम्म बन्द रह्यो । चिनिँया नाकामा निर्भर व्यवसायीहरु निकै मारमा परे । चीनसँग व्यापारिक कारोबारको नाका तातोपानी र रसुवागढी मात्र छन् ।

तर दैनिक जीवनयापनका लागि चिनियाँ नाकासँग निर्भर रहेका नेपालका थुप्रै जिल्लाहरु छन् । जहाँ चीनले नाका नखोल्दा स्थानीयहरु कष्टकर जीवन विताउन बाध्य छन् । त्यो मध्येको एक डोल्पा पनि हो ।

तस्विर: भुपेन्द्र क्षेत्री

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिमला नाका जोडिएको छ । माथिल्लो डोल्पाका धो, तराप, ताक्सी, सिमेन, साल्दाङ, तिन्जे, भिजेर लगायतका गाउँका बासिन्दा यी नाकामा निर्भर थिए । कोभिडको कारण देखाउँदै चीनले नाका बन्द गरेको थियो । हालसम्म नाका नखोलेपछि डोल्पाका बासिन्दा महँगो मुल्यमा उपभोग्य सामान खरिदका लागि बाध्य छन् । सदरमुकामसँग सडक सञ्जालमा नजोडिएका यी गाउँका बासिन्दाले चिनियाँ नाका नखुलेका कारण चर्को मूल्य तिरेर दैनिक उपभोग्य सामान किन्नु परिरहेको छ ।

तातोपानी नाका खुलाउनका लागि संघीय सरकारले निकै लामो पहल र प्रयत्न गरेको थियो । मन्त्री तथा सचिवस्तरीय वार्ता गरेर संघीय सरकारले नाका खुलायो । तर, हिमाली जिल्लामा चीनले नाका खुलाउन गरेको वेवास्ताप्रति संघीय सरकारले पनि वास्ता गरेको छैन ।

माथिल्लो डोल्पाका बासिन्दा शताब्दीऔँ देखि तिब्बतसँगको व्यापारमा निर्भर थिए । तर ४ वर्षदेखि चीनले बन्द गरेको नाका नखुलाउँदा उनीहरु मर्कामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरुले पनि संघीय सरकारलाइ पटक–पटक ध्यानाकर्षण गराएको सुनाए । तर उनीहरुको माग कहीँ कतै सुनुवाइ नभएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले गुनासो गरे । माथिल्लो डोल्पामा चीनको नाका नखुल्दा स्थानीय बासिन्दा २५ किलो चामललाई ६ हजार रुपैयाँ तिर्न बाध्य छन् । डोल्पाको सदरमुकाम दुनैबाट सामान ल्याउनुपर्दा उनीहरुले चर्को मुल्य तिर्नुपरेको हो । ‘हाम्रो नुन, तेल, घिउ, सबैथोक तिब्बतबाट ल्याउँथ्यौं,’ अध्यक्ष गुरुङ सुनाउँछन्, ‘आजभोली दुनैबाट खच्चरमा बोकाएर ल्याउँदा २५ किलोको चामलको मुल्य यहाँ पुग्दा ६ हजार भन्दा बढी हुन्छ,’ अध्यक्ष गुरुङले भने ।

तस्विर साैजन्य :https://en.wikipedia.org/wiki/Dolpo

तिब्बतसंग नुन, तेल, घिउ, याक,चौरी, उनको व्यापार गर्ने डोल्पाबासीहरुले नाका बन्द भएपछि याक पाल्न पनि कम गरेका छन् । तिब्बती नाकाहरुबाट याकलाई बोकाएर सामान ल्याउने र तिब्बतमा याकको व्यापार गर्ने माथिल्लो डोल्पाको साल्दाङ गाउँका कर्मा वाङगेलले गत वर्ष मात्र १२ वटा याक विक्रि गरे । नाका बन्द भएसंगै याक प्रयोगविहिन भएपछि उनले याक विक्रि गरे । ‘पहिला याक लिएर तिब्बत जान्थे, याक, चौरी, भेडाको उनको व्यापार हुन्थ्यो । याक पनि विक्रि हुन्थे,’ उनी भन्छन्, ‘४ वर्षदेखि नाका बन्द भयो । याकको काम भएन अनि पाल्न नसकेपछि बेचँे ।’ डोल्पाबासीले यतिबेला याक बेचेर घर परिवार पाल्नुपर्ने बाध्यता रहेको छ ।

यी नाका बन्द हुँदा यार्सागुम्बाको व्यापार पनि घटेको छ । यार्साको मुख्य व्यापार तिब्बत हो । स्थानीयबासीका अनुसार तिब्बतमा जति मूल्य अन्यत्र पाईदैन । फोक्सुण्डो गाउँपालिका ८ का वडा अध्यक्ष निमा लामा भन्छन् ‘यार्सा बेच्न तिब्बत जान नपाएपछि यार्सा खोज्न आउने मान्छे पनि घटेकाछन्।’

यार्सा व्यापारका लागि सन् २०२० अगाडि वर्षमा एक पटक १० दिनका लागि नाका खुल्ला गरिन्थ्यो । डोल्पाको क्याटो र मरिमला नाकामा चीनको अस्थायी राजस्व कार्यालय भए पनि नेपालको राजस्व कार्यालय स्थापना भएको छैन । यार्सागुम्बा बिक्रीवितरण सिजनमा चीनले घोडा खच्चड चरिचरन, प्रवेश शुल्कलगायत बहानामा राजस्व उठाउने गरेको यार्सा व्यापारी बताउँछन् ।

नाका खोलाउन स्थानीयले संघिय सरकारलाई बारम्बार अनुरोध गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष गुरुङ भन्छन, ‘नाका खोलाउन पहल गर्नुहोस भनेर हामीले डोल्पाका सांसद । फोक्सुण्डो ताल आउनु भएको उप सभामुख इन्दिरा राना मगरलाई समेत चिठ्ठी बुझायौं । पहिला फोक्सुण्डो तालमा आउनु भएका अहिलेका प्रधानमन्त्री प्रचण्डलाई पनि अनुरोध गरेका हौं ।’ सबैतिर अनुरोध गर्दा पनि नाका भने अझै खुलेको छैन ।

‘हरेक गाउँ सभाको बैठकबाट नाका खोलाउन सरकारलाई अनुरोध गछौं। संघिय सरकार पहल गरेको छौं मात्र भन्छ,’ गुरुङले गुनासो गरे । सरकारले माथिल्लो डोल्पाबासीलाई केही सुविधा नदिएको पनि गुनासो सुनिन्छ ।

सदरमुकाम दुनैसंग सडक सञ्जालमा नजोडिएको माथिल्लो डोल्पाको धो तराप, तिन्जे, साल्दागं लगायतका गाउँमा गाउँपालिकाले खनेको सडकमा चिनियाँ मोटरसाईकल निर्वाध गुडछन् । नाका बन्द हुनु अगाडि ल्याईएका यी मोटरसाईकल यहाँका जनप्रतिनिधि, शिक्षक, प्रहरी सबैले प्रयोग गर्छन् । भन्सार राजस्व नबुझाएका ती मोटरसाईकल हरेक स्थानीय तहको आँगनमा छन् । ‘हाम्रो नेपाल सरकारले यहाँ केही गरेको छैन । यहाँ प्रहरी छैन, यहाँका जनताले सीमा सुरक्षा गर्नुपरेको छ,’ गुरुङ गुनासो गर्छन, ‘कर नतिरि ल्याईएका चिनियाँ मोटरसाईकल यहाँका गाउँमा चल्छन् । नाका खुलेको भए, नाकामा भन्सार भएको भए त सजिलो हुन्थ्यो नि ।’

उत्तरी ब्यापारी नाका बन्द हुँदा खाद्य वस्तु लत्ताकपाडाको जोहो गर्न समेत माथिल्लो डोल्पाबासीलाई कठिनाइ भएको छ । ‘तिब्बतको ब्यापारकै भरमा बाँचेका हामी अहिले नाका बन्द भएदेखि छटपटाएका छौं,’ स्थानीय फुर्फा गुरुङले सुनाए । नाका बन्द हुँदा माथिल्लो डोल्पाबासीलाई नुन चामल जुटाउन नै मुस्किल भएको छ ।

तिब्बतबाट सस्तो मूल्यमा आयात गर्ने खाद्यान्न नाका बन्द हुँदा सुर्खेत, नेपालगञ्ज र दुनैबाट ढुवानी गर्नु पर्दा महँगो पर्ने स्थानीयहरू बताउँछन् । ढुवानी खर्च बढी भएकै कारण एक किलो नुनको मूल्य २ सय पर्न जान्छ । चीनले नाका नखोल्दा नेपालको हिमाली भेगका स्थानीय समस्यामा परेपनि सरकारले भने अझै केही पहल गरेको छैन् ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएको केही दिनमै चीनले रसुवागढी–केरुङ नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर, अरु नाका भने अझै बन्द छन् । परराष्ट्र मन्त्रालयले पनि नाका खुलाउन पहल गरिरहेको बताउँछ । तर, एक प्याकेट नुनको २ सय र २५ किलो चामलको ६ हजार तिर्न बाध्य डोल्पालीको पीडालाई राज्यले बुझेको हो वा होइन सबै अन्यौलमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर