भाजपा जितको अन्तर्य:महिला, किसान, युवा र गरिबलाई प्रधानमन्त्री मोदीले दिएको ‘ग्यारेन्टी’

भाजपाले मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको राज्यसभा चुनावको नतिजा आफ्नो पक्षमा पारेसँगै आलोचकहरुले आरोप लगाए– ‘हिन्दु बाहुल्यता रहेका राज्यमा हिन्दुत्वको नारा दिएर भाजपाले नतिजा आफ्नो हातमा पार्‍यो ।’

यथार्थमा हेर्ने हो भने त्यहाँ हिन्दुत्वको नारा मात्रैले काम गरेको छैन । चुनाव जित्नका लागि सबैभन्दा जरुरी कुरा मतदाताको विश्वास हो । आफ्नो नेतृत्वमा भारतमा अभूतपुर्व विकास गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले डबल इन्जिन सरकार बन्यो भने झन् तीव्र गतिमा विकास हुन्छ भन्ने विश्वास दिलाउन सफल भए । उत्तराखण्ड, हरियाणा, गोवा, असाम, अरुणाञ्चल र उत्तर प्रदेशमा डबल इन्जिन सरकारको कारण भएका विकासले गर्दा भाजपाले भारतको १२ राज्यमा शासन गरिरहेको छ । हालै त्यही विश्वास आर्जनका कारण उसले मध्य प्रदेश, छत्तीसगढ र राजस्थान पनि आफ्नो पकडमा पार्‍यो ।

कांग्रेस र अन्य विपक्षी दलहरुले बनाएको इन्डिया गठबन्धले विधानसभा चुनावमा भाजपालाई कमजोर बनाउने अपेक्षा गरिएको थियो । तर, मतदाताको विश्वास आर्जन गरेको भाजपा सामु कसैको जोर चलेन । विश्व नेताको छवी बनाएका मोदी स्वयंम तीनै राज्यमा पुगेर मतदाता सामु ग्यारेन्टी पेश गरे । सबैलाई साथमा लिएर विकास गर्ने प्रतिवद्धता जनाए । मतदातामाझ मोदीले गरेका प्रतिवद्धता मात्रै अपर्याप्त हुनसक्थ्यो । त्यसैले भाजपाका कार्यकर्ताले समाज कल्याणका लाभग्राही समुदायसँग चुनावअघिनै सँगै चाडपर्व मनाए । उनीहरुसँग पारिवारिक सम्बन्धनै बनाए । सबै तह र तप्काका मतदातालाइ सम्बोधन गर्नका निम्ति भाजपाले पारिवारिक शब्दावलीनै बनाएको थियो ।

मोदीको ग्यारेन्टीले स्थानीयतालाई प्राथामिकतामा राखेको थियो । उदाहरणका लागि छत्तीसगढमा भाजपाले गरिब परिवारलाइ ५०० रुपैयाँमा ग्यास उपलब्ध गराउने ग्यारेन्टी दियो । १ लाख सरकारी जागिर सिर्जना गर्ने प्रतिबद्धता जनायो भने विवाहित महिलालाई वार्षिक १२ हजार रुपैँया दिने ग्यारेन्टी पेश गर्‍यो । धान उत्पादन गर्नेहरुलाई ३१ सय क्विन्टलले धान खरिदे गर्ने, भूमीहिन कृषककलाई वार्षिक १० हजार रुपैँया उपलब्ध गराउनेदेखि सबैलाई आवासको सुनिश्चितता गर्ने ग्यारेन्टी मोदी स्वयंमले त्यहाँ पुगेर गरेका थिए ।

राजस्थानमा मोदीले सबैको साथ सबैको प्रयास र सबैको विकास नारा अघि सारे । त्यहाँ पनि उनले मतदाताको मत जिते ।
भाजपाले पाँच राज्यको विधानसभा चुनावमा यो जितमा महिला मतदाता मुख्य फ्क्याटर बने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यो चुनावमा भाजपालाई महिला र युवाले अत्याधिक समर्थन गरेको स्वीकार गरिसकेका छन् ।

भाजपाले राजस्थानका १९९ सिट मध्ये ११५ सिटमा जित हात पर्‍यो । मध्य प्रदेशका २३० सिट मध्ये १६३ र छत्तीसगढका ९० मध्ये ५४ सिटमा जित हासिल गर्‍यो । अघिल्लो चुनावमा तेलंगाना १ सिटमा चित्त बुझाएको भाजपाले यसपटक भने ८ सिटमा जित हात पर्‍यो । यससँगै भाजपाले २०२४ को आम चुनाव सहजै जित्ने संभावना बढेर गएको छ ।

यस बाहेक अरु राजनीतिक दलहरु चुनावमा जातिगत रडाको मच्चाउन लागिरहँदा भाजपाले ‘किसान, युवा, महिला र गरिब’ भनेर चुनावी यात्रा गर्‍यो । यी सबैले आफ्नो शसक्तिकरण भाजपाबाट मात्र संभव हुने ठाने । र, भाजपालाई मतदान गरे । भाजपाको यो जितमा हरेक महिला आफ्नो जित देखिरहेकाछन् । उज्ववल भविष्यको सपना देख्ने हरेक भारतीय युवाको जित हो यो ।

महिलाहरुले भाजपालाई मतदान गर्नुको मुख्य सैद्धान्तिक कारण हो भाजपाले लोकसभा र राज्यको विधानसभा चुनावमा महिलालाई ३३ प्रतिशत आरक्षण दिनेगरी पारित गराएको कानून् । भारतमा लामो समयसम्म बहसको विषय रहेको महिलाको ३३ प्रतिशत आरक्षणलाई भाजपा सरकारले कानूनी रुप दियो । लोकसभा र राज्यसभा चुनावमा महिलालाई ३३ प्रतिशत आरक्षण दिने कानून यसै वर्ष (सन् २०२३) मा पारित भईसकेको छ ।

यो सैद्धान्तिक आधार तय गरेर भाजपा सरकारले महिलालाई केन्द्रित गरेर शौचालय, विद्युत, बैंक खाता र पानी जस्ता आधारभूत सुविधा पुर्याउन अथक काम गरेको छ । भाजपाले पछिल्लो समय आफ्नो विकास मोडलको महत्वपूर्ण स्तम्भका रुपमा महिलालाई लिने गरेको छ । भाजपाले विकास, पूर्वाधार, जनतालाई दिने वाचा गर्ने मात्र होइन तिनलाई पुरा गर्ने ‘गारन्टी’ आफ्नो भएको प्रधानमन्त्री मोदीले बारम्बार दोहोर्याउँदै आएका छन् ।

भारतको चुनावमा महिला मतदाता कति प्रभावकारी छन् भने हरेक राज्यमा ५० प्रतिशत महिला मतदाता छन् । यी मध्ये तीन देखि पाँच प्रतिशत मात्र भोट परिवर्तन भएमा पनि चुनावी नतिजा निर्णायक रुपमा फरक पर्छ । विधानसभा चुनावमा भाजपाले गरेका अधिकांश चुनावी ¥याली महिला र युवा केन्द्रित थिए । जसले महिलाहरुलाई राजनीतिक रुपमा सक्षम बनायो ।

भाजपा सरकारले गरिबी रेखा मूनि रहेका महिलाका लागि ‘लाडली बहन’ ‘लक्ष्मी’ जस्ता योजना सार्वजनिक गर्‍यो। यी योजना अनुसार महिलालाई बैंक खाता खोलेर त्यसमा पैसा जम्मा गर्दिने काम गर्‍यो । कतिसम्म भने भाजपाले विधानसभा चुनावमा महिलाहरुलाई नै चुनावी स्वयंसेवक बनायो । वर्षौदेखि राज्यको मुलधार र सुविधाबाट टाढा रहेका महिलाहरुले एकातिर राज्यबाट लाभ पाए अर्कोतिर चुनावी ¥यालीमा नेतृत्व र स्वयं सेवकको भूमिका पाएपछि उनीहरुको राजनीतिक हैसियत पनि बढ्यो । यो परिवर्तन भोटमा पनि देखियो ।

भाजपा नेतृत्वको सरकारले ल्याएका सबैजसो योजनाबाट लाभ लिनेहरुमा ५० प्रतिशतभन्दा बढी महिला थिए । आदिवासीको जनसंख्या लगभग ३२ प्रतिशत रहेको छत्तीसगढ विधासभाका ९० सिटमध्ये २९ सिट अनुसूचित जनजातिका लागि आरक्षित छन् । यी सिटहरूमा भाजपाको भोट सेयर यस पटक ११ प्रतिशतले बढ्यो । कारण भाजपाले विशेष रुपमा कमजोर जनजाती समूहका लागि योजना ल्याईरहेको थियो ।

जसको उद्देश्य जनजाति समूहहरूलाई विकसित गरेर सरकारसम्म उनीहरुको पहुँच पु¥याउन भनेर प्रधानमन्त्री मोदीले छत्तीसगढको छिमेकी राज्य झारखण्डबाट ‘विकसित भारत संकल्प यात्रा’ सुरु गरे । यो योजनाले २५ जनवरी २०२४ सम्म आदिवासी रहेका सबै जिल्लालाई समेट्नेछ ।

पाँच प्रदेशको विधानसभा चुनावमा महिला मतदाताहरु गेम चेन्जर साबित भए । चुनावी प्रतिस्पर्धामा रहेका लगभग सबै दलहरूले महिलाहरूका लागि लोकप्रिय योजनाहरू घोषणा गरेका थिए । तर, प्रधानमन्त्री मोदी आफैले भाजपाका योजनाहरूको लागि व्यक्तिगत ग्यारेन्टी दिए । मध्य प्रदेशमा ‘लाडली बहना योजना’ र छत्तीसगढको ‘महतारी वन्दन योजना’ले महिला मतदातालाई अत्याधिक आर्कषित गर्‍यो । फलस्वरूप, दुवै राज्यहरूमा, पुरुषहरू भन्दा बढी महिलाहरू उत्साहपूर्वक मतदान गर्न निस्किए, र लोकसभा चुनावको सेमीफाइनलमा सत्ताको चाबी भाजपाको हातमा दिलाए ।

मध्य प्रदेशमा गत जुन महिनामा सुरु गरिएको ‘लाडली बहना योजना’ ले सबैभन्दा उत्कृष्ट नतिजा देखायो । यस योजनाअन्तर्गत प्रदेशमा २३ देखि ६० वर्ष उमेर समूहका १ करोड २५ लाख महिलाको बैंक खाता खोलिएको छ । दैनिक उपभोगका लागि भनेर सरकारले यी महिलाको बैंक खातामा प्रत्येक महिना रकम जम्मा गरिदियो ।

महिलाहरुलाई सेवा र सुविधा मात्र होइन भाजपाले महिलाहरुलाई सुरक्षा दिने समेत प्रतिज्ञा ग¥यो । भाजपा सरकार भएका राज्यहरुमा महिलाहरुले आफू पहिलेको तुलनामा सुरक्षित भएको महसुस गरेका छन् । बच्चाहरुको शिक्षाका लागि २ लाख रुपैयाँको बचत प्रदान गर्ने योजना पनि भाजपा सरकारले सुरु गर्‍यो ।

पहिलोपटक कुनै पार्टीले महिला केन्द्रित गरेर यति धेरै सुविधा ल्याएको थियो । राज्यमा महिलाको सहज पहुँचका लागि भाजपाले सुरु गरेका योजनाले महिला मतदातालाई प्रभावित गर्‍यो । उद्यम र सीप केन्द्रित भाजापका नीति, योजनाले युवा मतदातालाई आर्कषित गर्न सक्यो । यस बाहेक भूमिहिन किसनालाई भाजपाले १० हजार बोनस दिने योजना पनि ल्यायो । भाजपा महिला, किसान, युवा र गरिबप्रति कति संवेदनशिल थियो भने विधानसभा चुनावको नतिजा आएलगत्तै प्रधानमन्त्री मोदीले ‘भाजपा महिला, किसान, युवा र गरिब’ जातिका लागि आफ्नो पार्टी, सरकारले सबै काम गर्ने वाचा गरे ।

यसबाहेक भाजपाले विधान सभा चुनावमा युवा नेताहरु पस्कियो । अन्य दलहरुले पुराना वयोवृद्ध नेताहरु चुनावी मैदानमा उतारिरहँदा भाजपाले उतारेका युवा नेताहरुलाई मतदाताले रुचाए ।

यो चुनावमा भाजपाले जनताका लागि ल्याएका र पुरा गरेका योजना मात्र होइन् भारतीय कांग्रेसको कमजोरी पनि उत्तिकै महत्वपूर्ण छ । आफ्नै आन्तरिक लफडामा उल्झिरहेको र अनेक गुट–उपगुटमा विभाजित भएको कांग्रेसका अगाडि भाजपालाई मतदाताले राम्रो विकल्पका रुपमा लिए । किनभने भाजपामा मतदाताले गुट–उपगुट देखेनन् । सिंगो र सग्लो पार्टीले नै आफ्नो र आफ्नो राज्यको हितमा काम गर्छ भन्ने विश्वास गरे । विधानसभा चुनावमा हर–एक नागरिक केन्द्रित भाजपाको राजनीति सफल देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *