आरएसएस र शिखबीच फाटो ल्याउन क्यानडामा ‘प्रोपोगाण्डा’!

खालिस्तानी अभियन्ता हरदीप सिंह निज्जरको हत्यापछि भारत र क्यानडाको चिस्सिएको सम्बन्धमा अझै सुधार आएको छैन । यही मौका छोपेर त्यहाँ राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) माथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ ।

क्यानडियन मुस्लिम परिषद्का प्रमुख कार्यकारी अधिकृत स्टेफन ब्राउनले विश्व शिख संघको भेलामा सम्बोधन गर्दै भनेका थिए ‘विश्व शिख संघ र क्यानडियन मुस्लिम परिषद्को संयुक्त प्रतिवेदनमा हिन्दुत्वको राजनीति गरिरहेको नरेन्द्र मोदी सरकारको पालामा फस्टाएको हिन्दु अतिवादी अर्धसैन्य संस्था राष्ट्रिय स्वयंम सेवक संघ हाम्रा लागि खतरा रहेको औँल्याएका छौँ । भारतमा अहिले हिन्दु अतिवादी संस्था आरएसएसको बलमा खडा भएको सरकार छ । वर्तमान भारत गान्धीकोझैँ शान्ति र सद्धभावको पक्षमा उभिने भारत छैन । त्यसैले उसले खुलेआम हाम्रो भूमिमा हाम्रा नागरिकको हत्या गरेको छ । साथै आरएसएसले शिख तथा मुस्लिम दुबै सुमदायको अपमान गरेकाले फौजदारी कानुनको अधिनमा रहेर आरएसएस र यसका एजेन्टलाइ प्रतिबन्ध लगाउन हामी माग गर्दछौँ ।’

यस्तै खालिस्तानी अभियानका समर्थक क्यानडाका शिख समुदायका सांसद जगमित सिंहले १९८४ को दंगामा आरएसएस दोषी भएको आरोप लगाएका छन् । उनले पनि क्यानडामा आरएसएसमाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै ट्वीट गरेका छन् । ‘एनडिपी सन् १९८४ को दंगामा आरएसएस दोषी रहेको ठान्दछ । तसर्थ आरएसएस र यसका समर्थकलाइ क्यानडामा प्रतिबन्ध लगाउनैपर्छ ।’

क्यानडियन मुस्लिम परिषद्का प्रमुख कार्यकारी अधिकृत शिख सांसद सिंहको भनाईलाइ लिएर यो माग क्यानडाको सरकारी निकायको आधिकारिक धारणा रहेको र आरएसएसले शिखमाथि अत्याचार गरेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलिरहेको छ ।

के राष्ट्रिय स्वयंसेवक संघ सामाजिक सञ्जालमा प्रचार गरिएकोझैँ शिखको विरोधी हो त ? वा शिख र राष्ट्रिय स्वयंसेवक संघको सम्बन्ध तिक्तापूर्ण अवस्थामा पुगेको छ?

 

अब यी प्रश्नहरुको जवाफ विगतमा पुगेर खोजौँ ।

आरएसएस र शिखबीचको सम्बन्ध सन् १९४७ को स्वतन्त्रता संग्रामदेखि झाँगिएको हो । आरएसएसले ठूलो संख्यामा पञ्जाबी शिखको ज्यान जोगाएको थियो । मुस्लिम लिगले नेतृत्व गरेको आन्दोलनका क्रममा शिखहरुमाथि आक्रमण हुँदा उनीहरुलाइ सुरक्षित स्थानमा लैजान आरएसएसले सहयोगी भूमिका निर्वाह गरेको तथ्य छ । त्यसबेलाको स्थितिलाइ लिएर इंगलिस ट्रिब्युनले लेखेको थियो ‘पञ्जाब हिन्दुस्तानको र आरएसएस पञ्जाबको दाहिने हुन् ।’

मार्च ६, १९४७ मा मुस्लिम नेतृत्वको सशस्त्र समुह अमृतसरस्थित सेरावाल गेट देखि फावार चोकमा पुगेका थिए । उनीहरुको उद्देश्य कृष्ण टेक्सटाइल बजार र धार्मिक स्थान दरबार साहिब भत्काउने थियो । विध्वंसको उद्देश्य सहित छिरेका समुहलाइ आरएसएसले धपाएको थियो । राष्ट्रिय स्वयंसेव संघले चारैतिरबाट घेरा हालेर उनीहरुलाइ धपाउँदा टेक्सटाइल बजार र शिख समुदायको गुरुद्वारा दुबै जोगिएको थियो ।

७५ जना राष्ट्रिय स्वयंसेवक संघका स्वंसेवकले ठूलो संख्यामा आएका समुहलाइ धपाएका थिए । यसको नेतृत्व अमृत शाखाका प्रमुख बलदेव प्रकाशले गरेका थिए । त्यसमा प्रचारकहरु इन्द्रपाल, गोवर्द्धन चोप्रा लगायतको पनि सहभागी थियो ।

दरबार साहिब भत्काउने पहिलो प्रयास असफल भएसँगै सोही समय तीनदिनपछि दोस्रोपटक प्रयास गरियो । त्यस दिन मुस्लिम समुदायका सशस्त्र समुहले तीनतिरबाट गुरुद्वारा घेरा हालेका थिए । पहिलो टोली कत्रा करम सिंह मार्गबाट, दोस्रो नमक मण्डी तथा तेस्रो टोली शेरवाला दरवाजाबाट छिर्दै थियो । सबैसँग हतियार थियो । सयौँ निहत्थाहरु मन्दिरमा फसेका थिए ।

यो सुचनाका कारण प्रशासनले कर्फ्यु लगाएको थियो । गुरुद्वारामा रहेकाहरु कर्फ्युका कारण बाहिर आउन पाएका थिएनन् । मुस्लिम समुदायका सशस्त्र समुह आएको सुचना शिख समुहले पनि पाएका थिए । उनीहरुलाइ पुलिस प्रशासनले रोकेको थियो । अत्तालिएकाहरुले स्वयंसेवक संघका इन्चार्जलाइ फोन गरेर सहयोगको याचना गरे । स्वयंसेवकहरुले आफुहरु त्यहाँ पुग्ने र नआत्तिन बताए । त्यहाँका राष्ट्रिय स्वयंसेवक संघका इन्चार्ज दुर्गादास खन्नाले दरबार साहिबको हर हालतमा रक्षा गर्ने प्रतिबद्धता जनाए ।

मुस्लिम सशस्त्र समुह अघि बढ्दै गयो । स्वंसेवकहरु पनि उच्च सतर्कतामा बसेका थिए । बलदेव प्रकाश अन्य स्वयंसेवकहरुसँग त्यहाँ पुगे । त्यसबेलाको स्मरणमा उनले भनेका थिए ‘एकपटकको आक्रमणको प्रयास हामीले असफल बनायौँ । दोस्रोपटकको आक्रमण पनि हरहालतमा रोक्ने पक्षमा थियौँ । यसपटक हरेक घर किलामा बदलिएको थियो । पहिलोपटक हामीले आत्मरक्षा गरेका थियौँ । यसपटक जवाफी कारबाही गर्ने निष्कर्षमा पुगेका थियौँ ।’

स्वयंसेवक र मुस्लिम सशस्त्र समुहबीच पहिलो झडप फवारा चोकमा भयो । त्यहाँबाट उनीहरु भागे । अन्य दुइ स्थानबाट पनि गुरुद्वारामा आक्रमण गर्न आएकाहरुलाइ स्वयंसेवकले खेदे । ‘आक्रमणकारीलाइ धपाएपछि पुरै सहर श्रतशियाकालमा गुन्जयमान भएको थियो,’ त्यसबेलाको स्मृतिमा बलदेवले भनेका थिए ।

हिन्दु शिखको एकता कायमका लागि पनि आरएसएसले भुमिका निर्वाह गरेको छ । मुलुक विभाजनको क्रममा लाहोरमा शिख तथा हिन्दु समुदायमाथि भएका आक्रमणमा दुबै पक्षलाइ जोगाउन स्वयंसेवकहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो ।

पञ्जाब विश्वविद्यालयका प्राध्यापक बालीले त्यसबेलाका घटनाक्रम समेट्दै पुस्तक लेखेका थिए । सन् १९४९ मा प्रकाशित पुस्तक ‘नाउ इट क्यान बी होल्ड’ को प्राक्कथनमा शिख सुमुदायका नेता तारा सिंहले लेखेका छ– प्रहरी मुस्लिम लिग विचारधाराका थिए । त्यहाँ हिन्दु तथा शिख समुदायको रक्षा राष्ट्रिय स्वयंसेवकका युवाहरुले गरेका थिए ।

उनीहरु गल्ली गल्लीमा खटिएर हिन्दु तथा शिख समुदायलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सघाउँथे । राहत तथा स्वास्थ्य सामाग्रीको जोहो र दमकलको समेत व्यवस्था उनीहरुले गरेका थिए । उनीहरुको अनुशासन, समुदायप्रतिको भावना र उनीहरुको शारिरीक तन्दुरुस्तीका कारण धेरैको ज्यान जोगियो । सरकार समेत लाचार रहेको अवस्थामा उनीहरुले भीडेरै धेरैको रक्षा गरे ।’

सन् १९८४ मा शिखविरुद्ध दंगा भड्किएको थियो । त्यसबेला समेत राष्ट्रिय स्वयंसेवक संघले उनीहरुको रक्षाका लागि महत्पूर्ण भुमिका निर्वाह गरेको भन्दै शिख लेखक तथा प्रशिद्ध स्तम्भकारले कृतज्ञता व्यक्त गरेका छन्, ‘इन्दिरा गान्धीको हत्याअघि र पछिसम्म हिन्दु–शिख समुदायको एकताका लागि आरएसएसले महत्वपूर्ण भुमिका खेल्यो । यो भूमिकाका लागि उनीहरु सम्मानयोग्य छन् । शिखविरुद्ध भारतीय कंग्रेसलेनै भड्काएको हिंसामा ३ हजार जना मारिए । त्यसबखत आरएसएस र भारतीय जनता पार्टीले शिखको रक्षाका लागि साहस देखाएकै हो । यसका निम्ति भाजपा र आरएसएसप्रति सिंगो शिख समुदाय कृतज्ञ छ ।’

इतिहासदेखिनै शिख समुदायको रक्षाका लागि अग्रपंक्तिमा खटिएको आरएसएस शिखविरोधी हुने प्रसंग नै आउदैन् । अर्को महत्वपूर्ण कुरा के हो भने आरएसएस मुस्लिम विरोधी पनि छैन । आरएसएस यदि मुस्लिम विरोधी हुनेथियो भने मुस्लिमहरुलाई त्यसमा संगठितनै गर्ने थिएन ।

आरएसएस कुनै सम्प्रदाय वा धर्मको विरोधी कहिल्यै भएको छैन । धर्म वा सम्प्रदायको नाममा हुने गलत क्रियाकलापको भने यसले इतिहासदेखि वर्तमानसम्म विरोध गर्दै आएको छ । आरएसएसमा मुस्लिमहरुको समेत आकर्षण बढ्दै गएको कुरा अष्ट्रेलियन नेशनल युनिभर्सिटिका लागि गरिएको एक अनुसन्धानले समेत देखाएको छ । धार्मिक विविधता स्वीकार गरेर मुस्लिमहरुलाई समेत संगठित गरिरहेको संस्थालाई हिन्दु अतिवादी भनेर दुत्कार्नु आफैँमा गलत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *