कोशी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरिदिएको छ। साथै नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न आदेश दिएको छ।

सर्वोच्चले सात दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै पदमुक्त हुने आदेश दिएको छ।

सर्वोच्चको आदेशअनुसार पुनः संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको गृहकार्य गर्नुपर्ने भएको छ। कोशी प्रदेशसभामा ९३ सांसद छन्। तीमध्ये बहुमत जुटाउन सक्ने दलले सरकारको दाबी गर्न पाउनेछ।

आदेशअनुसार कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने बाटो खुल्ने छ।

थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएपछि विवाद उत्पन्न भएको थियो। उनी २१ असारमा मुख्यमन्त्री बनेका थिए। उनी मुख्यमन्त्री बनेपछि नेकपा ( ( (एमाले)संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका हुन्।

तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्न नसक्ने दाबी उनको थियो। थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न कार्कीले परमादेश माग गरेका थिए।

मतदानमा सहभागी हुन सभामुखको अधिकार नरहेको भन्दै सर्वोच्चले थापा नेतृत्वको सरकारलाई अवैध ठहर गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर