महोत्तरीको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँ कार्यपालिकाकी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सबइन्जिनियर श्याम किसोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टचार गरेको सम्बन्धमा आज आरोपपत्र दायर गरेको हो ।

उनीहरुले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई एक लाख ४८ हजार नौ सय १० रुपैयाँ भुक्तानी दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सवइन्जिनियर मण्डल उपर भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई एक लाख ४८ हजार नौ सय दश बिगोसहित सजायको माग दाबी गरेको छ । उनीहरुविरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर