सरकारी अस्पतालमा लागू सुधार कार्यक्रमले निजी अस्पतालमा बिरामीको चाप घट्यो : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रहिआएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुति ‘पुनर्जन्म’ वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले वीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरू भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको उल्लेख गरे।

मन्त्री बस्नेतले भने, ‘सीमित स्रोत साधनका बाबजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ, कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ।’

सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको बताउँदै उनले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्‍याउने धारणा राखे। स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘उपचारका नाममा ठूलो रकम विदेश नजाओस् भन्ने हेतुले विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा उपचार कक्ष र शैय्या बढाउन निर्देशन भइसकेको छ, मानव अङ्ग प्रत्यारोपण केन्द्रको विकास र विस्तारलाई पनि प्राथमिकता दिइनेछ।’

मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले भक्तपुर अङ्ग प्रत्यारोपण केन्द्रका लागि सरकारले जग्गा प्राप्ति, पूर्वाधार निर्माण र आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न प्रयास तथा प्रयन्न गरिरहेको बताइन्।

भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद दुर्लभ थापाले उपचारका लागि छटपटाइरहेका मिर्गाैला रोग पीडितलाई डायलाइसिस र मिर्गाैला प्रत्यारोपण गर्न बजेट व्यस्थापन, औषधिलगायतमा आफूले सहयोग गरिरहेको बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण श्रेष्ठले मस्तिष्क मृत्यु भएपछि अङ्गदानका लागि प्रेरित गर्न जनचेता अभियानअघि बढाउने र सकारात्मक सन्देश थालनी फैलाउने कार्यमा आफै अग्रसर हुन आवश्यक रहेको बताए।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले अङ्गदानबारे परम्परागत मान्यतालाई रूपान्तरण गर्दै त्यसमा सकारात्मक नतिजा प्राप्त गर्न जनचेतनालाई अभियानकै रूपमा लैजानुपर्ने धारणा राखे।

अर्का हास्यकलाकार हरिवंश आचार्यले मस्तिष्क मृत्यु भई शरीरका खेर जाने अरू अङ्ग र काम नलाग्ने अङ्ग दान गर्न सके धेरैको अकालमा मृत्यु हुनबाट जोगाउन सकिने भएकाले त्यस विषयमा समाजलाई जागरूक तुल्याउन आवश्यक रहेको बताए।

वृत्तचित्रकी निर्माण निर्देशक सरना श्रेष्ठले सबैभन्दा ठूलो दान अङ्गदान हुँदा जनचेतना अभिवृद्धि गर्ने र ज्ञान बाड्ने कर्ममा सरिक हुन सबै पहल तथा प्रयत्न आवश्यक रहेको बताइन्। मिर्गाैला रोग समस्या भई डायलाइसिस र उपचारमा झेल्नुपरेको कठिनाइ, पीडा र खेप्नु परेको आर्थिक समस्यालगायतका विषय तथा मिर्गाैला प्रत्यारोपणको सकारात्मक नतिजा एवं त्यसपछिको सुखद् जीवनसम्बन्धी विषयवस्तु वृत्तचित्रमा समेटिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर