सिंहदरबारभित्रका कर्मचारीको दुर्गममा सरूवा सुरू, पहिलाे चरणमा २२ जनाकाे सरूवा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरूवा गर्न सुरू गरेको छ। मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४ उपसचिव र आठ जना शाखा अधिकृतको सरूवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य उपसचिवको रौटहटका स्थानीय तहमा सरूवा गरेको छ।

यस्तै गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका, सर्लाहीमा सरूवा भएको छ।

सिंहदरबार वरिपरिका आठ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरूवा भएको छ। गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशीलकुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य तीन जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरूवा भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजङ्ग चन्दको जुनिचाँदे गाउँपालिका, जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य दुई जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरूवा भएको छ।

मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरूलाई दुर्गम क्षेत्रमा खटाउन थालेको प्रवक्ता भट्टराईले बताए। उनले भने, ‘मन्त्रालयले गठन गरेको सरूवा व्यवस्थापन कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौँ उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरूवा गर्न सरकारलाई सिफारिस गरेको थियो, सोहीअनुसार सरूवा गरिन थालिएको हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर