लुम्बिनीमा माेदी र देउवाले शिलान्यास गरेकाे भारतीय विहारको निर्माण सुरू

बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्र (विहार) को निर्माण सुरू भएको छ। अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसङ्घको लगानीमा भारतीय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरू भएको हो।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला उनी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा भारतीय विहारको शिलान्यास गरेका थिए।

आज विहार निर्माणस्थलमा बौद्ध परम्पराअनुसार पूजा र भिक्षु-भिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ। भूमिपूजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई ‘ढुण्डिराज’ ले अन्तर्राष्ट्रियस्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद् भएको बताए।

उनले यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाइमा पुर्‍याउने बताए। भट्टराईले नेपाल र भारतबीचको सम्बन्ध दुई छिमेकी देशका रूपमा मात्र सीमित नभई भगवान् गौतमबुद्धका कारण हजारौँ वर्षअघिदेखि नै सांस्कृतिक रूपमा जोडिएको बताए।

बुद्ध जीवनका चारधाममध्ये एक बुद्धजन्मस्थल लुम्बिनी र बाँकी तीन धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको उनकाे भनाइ थियो। भारतको उपस्थिति बुद्धजन्मस्थल लुम्बिनीमा अनिवार्य रहेको भन्दै उनले अबको १८ महिनापछि कमल फूलको आकृतिको विहार सम्पन्न भएर बौद्ध गतिविधि चलायमान हुने जानकारी दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीमा भारतको उपस्थिति हुनु निकै राम्रो भएको बताए। उनले अन्तर्राष्ट्रियस्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रवर्द्धन हुने बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसङ्घका महासचिव डा. भिक्षु धम्मपियाले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदाको प्रवर्द्धनका लागि आधुनिक केन्द्र बनाउन सुरू भएको दिन निकै महत्त्वपूर्ण रहेको बताए। उनले बुद्धको लुम्बिनीमा जन्म भए पनि बुद्धले ध्यान गरी ज्ञान प्राप्त गरेको बोधगया, पहिलोप टक धर्मदेशना गरेको सारनाथ, महापरिनिर्वाण गरेको कुशीनगर भारतमा रहेकाले यी दुई देशबीच सुमधुर सम्बन्ध रहेको बताए।

शुभारम्भ कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका सचिव, अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घका कार्यसमिति सदस्य भिक्षु थुप्टेन जिकडोललगायतले विहार निर्माणले आध्यात्मिक गतिविधिलाई बढावा दिने बताए।

जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाइन गरिएको विहार एक अर्ब ६० करोड रूपैयाँ लागतमा निर्माण हुने जनाइएको छ। लुम्बिनी गुरूयोजनाभित्रको विहार क्षेत्रमा विहार निर्माण सुरु भएको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए।

उनले जिरो नेट प्रविधि अर्थात् बाहिरी बिजुली नै आवश्यक नपर्ने गरी आधुनिक विहार भवन निर्माण हुने बताए। एसीसी इन्डिया र गोर्खा बिल्डर्स जेभीले आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ।

भूमि पूजा कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, कोषका सदस्यसचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरू, अखिल नेपाल भिक्षु महासङ्घका महास्थवीर, विभिन्न देशका भिक्षु-भिक्षुणी, उपासक-उपासिकालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर