मकवानपुरमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, ६ बेपत्ता

मकवानपुरको बागमती गाउँपालिका-५, सिक्रे दोभानमा आज बिहान गएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।

सोमबारबाट परेको अविरल वर्षाका कारण मंगलबार बिहान ४ बजे सिक्रे दोभानस्थित अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको हो।

पहिरोमा परी घाइते भएकी अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्थानीय स्वास्थ्य संस्थमा लगेका थिए। उनको उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

उक्त पहिरोमा परी अक्कलबहादुरसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, २५ वर्षीय ज्वाइँ जीवन पहरी, जीवनका ४ वर्षीय छोरा मिलन पहरी र डेढ वर्षीया छोरी दिव्या पहरी बेपत्ता भएका छन्।

साथै अक्कलबहादुरको घरमा पाहुना लाग्न गएका सिन्धुलीको हरिहरपुर गाउँपालिका-१, कोकटी बस्ने अन्दाजी १७ वर्षीय पासाङ घिसिङ पनि बेपत्ता भएको भोर्लेनी प्रहरी चौकीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *