प्रसाईं -बस्नेत प्रदर्शनका लागि यस्तो छ सुरक्षा व्यवस्था

व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वमा बुधवार हुने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानीलाई रणनीतिक तरिकाले व्यवस्थापना गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नेकपा एमाले निकट युवा संघ र झापाको बिर्तामोडस्थित बिएनसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले त्यसदिन काठमाडौंमा ठूलो संख्यामा मानिसहरु भेला गरेर प्रदर्शन गर्ने घोषणा गरेका छन् । युवा संघका नेता महेश बस्नेत र प्रसाईंवीच केही समयअघि परस्पर शक्ति प्रदर्शनको शैलीमा वादविवाद पनि भएको थियो । त्यसपछि दुइ समूहका अगुवाले भोलि ७ गते काठमाडौंमा ठूलो संख्यामा मानिसहरु उतारेर आफ्नो शक्ति प्रदर्शन गरेर एकअर्कालाई देखाउने धम्की दिएका छन् ।

उपत्यका बाहिरबाट धेरै मानिसहरु काठमाडौंमा जम्मा भएर दुइ समूहको शक्ति प्रदर्शन हुँदा तनाव उत्पन्न हुने र सम्भावित अराजकतालाई समेत ध्यानमा राखेर नेपाल प्रहरीले नियमित सुरक्षा प्रवन्धलाई रणनीतिक तरिकाले फेरबदल गरेर व्यवस्थित गरेको जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले एकिकृत सुरक्षा योजना अनुसार उपत्यकाका तीनवटै जिल्लालाई आवश्यक परेका बेला थप मद्दत दिने गरी सुरक्षा प्रवन्ध गरिएको बताए । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा अवस्थाबारे गरेको विश्लेषण अनुसार विशेष अवस्थामा थप मद्दतको आवश्यकता जनाएमा उपत्यका प्रहरी कार्यालयले सहयोग गर्ने तयारी गरेको प्रवक्ता मैनालीले जानकारी दिए ।

प्रदर्शनमा काठमाडौंका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरुमा उपत्यका बाहिरबाट आएका मानिसहरुको जमघट हुँदा सम्भावित घुसपेठबाट तनाव उत्पन्न हुनसक्ने प्रहरी अनुमान छ। ती स्थानहरुलाई निगरानीमा राखेर प्रहरीले तैनाथी गरेको बताईएको छ ।

दुर्गा प्रसाईं समूहले राजधानी बाहिरबाट मान्छे ल्याउने र त्यहाँ आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरु पनि मिसिने सम्भावनाको सूचना पाएकाले प्रहरीले निगरानी बढाउँदै सुरक्षा बढाएको बताएको छ ।

प्रसाईं समूहलाई विभिन्न धार्मिक संस्थाहरु र राजसंस्था पुनर्वहालीको माग गरिरहेको समूहले समर्थन गरेको सूचना पाएसँगै धार्मिक दंगा र हिंसा नभड्कियोस भनेर सार्वजनिक पाटी पौवा, धर्मशाला, पार्टी प्यालेस जस्ता स्थानलाई प्रहरीले उच्च निगरानीमा राखेको सम्बध्द सूत्रले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *