युनाइटेड सहकारीले १५ लाख ऋण दिएर ७ करोडको घरजग्गा कब्जा गरेको पीडितको आरोप

पुतलीसडकको युनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका १० का सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताएका छन् ।

बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट न्याय तथा कानुन विभागले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत, मालपोत, वडा कार्यालय र वकिलह्सँग मिलेमतो गरेर सो सहकारीले लिलाम गरेको पीडित पुनले आरोप लगाएका छन् ।

पीडित वैदशिक रोजगारको क्रममा जापानमा रहेको समय २०६१ सालमा सहोदर भाई पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घरजग्गा आफू स्वयं सुरेन्द्र भएको कीर्ते हस्ताक्षर र ल्याप्चे कीर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।

ऋण लिँदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्धक राखेर भाइ पञ्च पुनले ५ लाख, निरन्जनप्रसाद शर्माले ५ लाख र दीपेन्द्र उप्रेतीले ५ लाख बाँडेको काठमाडौं जिल्ला अदालतले पुष्टि गरिसकेको छ ।

२०६३ सालमा सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा कीर्ते जालसाजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधखोज गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनी घरमा पत्र पठाएको पीडितले बताए ।

सहकारीसमक्ष आफूले ऋण नलिएको बरू भाइले कीर्ते गरेको भन्दा नमानेपछि न्यायका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा लडेको बताए । करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर कीर्ते पुष्टि भएपछि पीडितको पक्षमा फैसला भए पनि सहकारी पुनः त्यसविरूद्ध उच्च अदालत गएपछि मिलेमतोमा मुद्दा उल्ट्याएको आरोप पीडितको छ ।

त्यसपछि पीडित न्यायका निम्ति सर्वोच्च अदालतमा गए । सर्वोच्चले कीर्ते तथा ठगी नभएको बरू लेनदेनमार्फत मिलापत्र गर्नू भनी पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन् ।

यसरी १८ वर्षदेखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्‍याएको पीडितको भनाइ छ । कतै न्याय नपाएपछि बाध्य भई आम रूपमा न्याय माग्न र पीडा सार्वजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन् ।

पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको न्याय तथा कानुन विभागका प्रमुख कृष्ण धमला ‘गम्भीर’ ले सुरेन्द्रले भोगेको अन्याय र अत्याचारले आफ्नो पार्टीलाई गम्भीर बनाएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको बताए ।

पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका धमलाले कानुनी राज्य भनिएको देशमा न्यायालयसमेतको मिलेमतोले आफूलाई दुःखी तुल्याएको बताउँदै भने, ‘अदालत, मालपोत, वकिल, सहकारी मिलेर पीडितलाई आत्मदाहसम्म गर्न बाध्य बनाउनेहरूलाई हाम्रो पार्टीले छाड्दैन ।’

सो पार्टीका नेता जुनतारा मगरले विदेशबाट खुनपसिना बगाएर कमाएको रकमबाट आर्जेको सम्पत्ति गलत बाटोबाट हडपेकोले पीडितलाई न्याय दिने प्रतिबद्धता जाहेर गरे ।

हाकाहाकी सोझासाझा सुरेन्द्रजस्ता हजारौं जनताको जग्गा जमिनलाई लिलाम गर्नेविरूद्ध पार्टी खरो उत्रने बताउँदै भने, ‘कानुन तथा न्यायको गला रेट्दै कथित युनाइटेड सहकारी, मालपोत, वकिल र वडा कार्यालयका मान्छेहरूलाई सडकमा पछार्ने दिन टाढा छैन ।’

अभियन्ता पुण्य गौतमले सुरेन्द्र एक प्रतिनिधि पीडित पात्र मात्रै रहेको र यस्ता हजारौं जनता दिनदिनै माफियाहरूको चंगुलमा पर्ने हुँदा न्यायका लागि सबै एक हुन र्ने धारणा राखे । गौतमले सुरेन्द्रको न्यायका निम्ति युनाइटेड सहकारीदेखि मालपोतसम्म घेर्न तयार रहने प्रतिबद्धता जाहेर गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर