सुन तस्करीको ‘रूट’ बुझ्न रसुवा पुग्यो जाँचबुझ आयोगको टोली

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरूको स्थलगत अध्ययन भ्रमण गरेको थाहा भएको छ।

ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरूको अनौपचारिक भ्रमण गरेको जानकारी प्राप्त भएको छ। दसैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरूङसम्मको स्थलगत अध्ययन गरेको रसुवास्थित एक विश्वस्त सूत्रले नेपाल न्यूज बैंकलाई जानकारी दिएको छ। तर, आयोगले भने यसको पुष्टि गरेको छैन।

चीनको राजधानी बेइजिङबाट ठूला मालवाहक ट्रकमा ढुवानी गरेर सुन नेपालको उत्तरी सीमासम्म ल्याउने र त्यहाँबाट स-साना ट्रकमा सामानमा मिसाएर यता छिराउने गरिएको सूचना भ्रमण टोलीले पाएको थियो। रसुवा भन्सार पूर्वका केही स्थानमा यसरी छिराइएको सुन नेपालका उत्तरी नाकाका विभिन्न स्थानबाट तस्करहरूले ओसारपसार गरेको जानकारी पनि आयोगलाई उपलब्ध गराइएको सूत्रले बताएको छ। आयोगको टोली त्यता रहेकै समयमा चिनियाँ प्रहरीले नै पाँच किलो अवैध सुन समातेको थियो।

यता आयोगले सुनको अवैध पैठारी (तस्करी) सम्बन्धमा विभिन्न सरोकारवाला संस्था र व्यापारिक समूहसँग बुझ्ने कार्यलाई निरन्तरता दिइरहेको छ। नेपाल पारवहन केन्द्र, उद्योग वाणिज्य संघ, नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल आभूषण संघलगायतका संस्थासँग बुझ्ने कार्य भइसकेको आयोग सूत्रले जानकारी दिएको छ।

आयोगका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यले चाडपर्वको बिदा सकिएलगत्तै आयोग आफ्नो कार्यमा सक्रिय रहेको बताए। उनले स्थलगत अध्ययन भ्रमण गरेको बिवायमा ‘बुझ्न आवश्यक परेका ठाउँमा आयोग सम्पर्कमा रहन्छ’ भन्ने संक्षिप्त प्रतिक्रिया मात्र दिए। सरकारले पछिल्लो पटक ठूलो परिमाणमा सुन पक्राउ परेपछि ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग-२०८०’ गठन गरेको थियो।

‘सुन आयोग’ भनी चर्चामा रहेको आयोगले सुन तस्करीका अहिलेसम्म भएका न्यायिक तथा अर्धन्यायिक विषयहरूबाट प्रवेश गरेर सीआईबीको अनुसन्धानलाई स्रोत सामग्रीको रूपमा लिँदै घटनाक्रमहरूलाई आफ्नै ढंगले अनुन्धान गरिरहेको जनाएको छ।

आयोगले यसअघि विदेशबाट इलेक्ट्रोनिक सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको र साउन २ गते ब्रेक शुमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको लगायतका पटक-पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाव एवं जानकारी लिएको छ।

सुनको अवैध पैठारीसम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक-पटक भएका सुन तस्करीसम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना आयोगले लिने भएको छ।

सुन तस्करीको प्रकृति, सुनको परिमाण र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा व्यक्तिहरूको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिने गरी कार्ययोजना बनाइएको आयोगले यसअघि पत्रकार सम्मेलनमा जानकारी दिइसकेको छ। गृह मन्त्रालयको पुरानो भवन परिसरमा आयोगको कार्यालयसमेत स्थापना भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर