‘अपरेशन आवर’ को निर्णय खारेज गर्न कर्णालीवासीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

कर्णालीका विभिन्न जिल्लासहित देशका दुर्गम जिल्लाहरूमा अहिले हवाइ उडान ठप्प छ। नागरिक उड्डयन प्राधिकरणले मध्याह्न १२ बजेपछि उडान नगर्ने निर्णय लिएपछि दुर्गमका उडान प्रभावित हुँदा सर्वसाधारण मारमा परेका छन्।

प्राधिकरणको निर्णयले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ। विमान कुर्दा हुम्लामा हालसम्म २ जना बिरामीको ज्यानसमेत गइसकेको छ।

प्राधिकरणको अपरेशन आवर निर्णयका कारण ठप्प बनेको हवाई उडानको अवस्थाबारे कर्णालीका सरोकारवाला निकायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जानकारी गराएका छन्। उनीहरूले अपरेशन आवरको निर्णय खारेज गरी स्थिति सहज बनाउन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन्।

कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन्। ‘नागरिकमाथि अन्याय भयो, आवतजावत ठप्प छ, ढुवानी भएका छैन र बिरामीले विमान कुर्दै ज्यानसमेत गुमाइसकेका छन्,’ समाजका अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले भने, ‘निर्णय खारेजीका लागि प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौं, उहाँले तल्लो तहसँग छलफल गर्ने बताउनुभएको छ।’

समाजले अपरेशन आवरको निर्णय कार्यान्वयन भएसँगै संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो भने कर्णालीका जनप्रतिनिधिसँग छलफल गरी निर्णय फिर्ता लिन सरकारसँग पहल गर्न आग्रह गरेको थियो। प्राधिरणको यो निर्णयले कर्णालीका नागरिकको गुनासो पनि बढेको छ।

कर्णालीका नागरिकले जहाजलाई अनुकूल समयमा उडान गर्न अनुरोध गर्दै सांकेतिक विरोधका लागि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारलाई म्यासेज गरिरहेका छन्। सोमबार मुगुमा भएको सडक दुर्घटनाका बिरामीलाई समेत अस्पताल ल्याउन कठिन भएको छ।

‘सरकारले हामीमाथि सौतेनी व्यवहार गरेको छ,’ मुगुका स्थानीय जसबहादुर बुढाले भने, ‘कर्णाली राजमार्गमा यात्रा गर्न हप्तौं लाग्छ। निर्णय फिर्ता लिई नागरिकको जीवन सहज बनाउन र ज्यान बचाउन सरकार लाग्नुपर्छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *