गालेर जाेखिएकाे सुन ६० किलो ७१६ ग्राम

तस्करले हङ्कङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालेर जाेखिएकाे छ, जसकाे ताैल ६० किलो ७१६ ग्राम आएकाे छ।

मंगलबार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको थियाे। यसअघि सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम गरिएको थियो। यसरी छुट्याइएको सुनको तौल ६० किलो सात सय ८९ ग्राम थियो।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ब्रेक शु बरामद गरेको थियो।

प्रकरणकाे प्रारम्भिक अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेकामा उसले बीचमा थप अनुसन्धानका लागि पक्राउ अभियुक्त र अनुसन्धान फाइल सीआईबीलाई बुझाएकाे थियाे। सीआईबीले यस प्रकरणमा हाल संगठित अपराध र राजस्व छलीकाे कसुरमा अनुसन्धान गरिरहेकाे छ।

प्रकरणामा मंगलबार मात्रै थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।  पक्राउ परेका तीन चिनियाँमध्ये दुई जना पुरूष र एक जना महिला छन्।

प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार चिनियाँ नागरिकहरू गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ (महिला) पक्राउ परेका हुन्।  उनीहरूका साथबाट नगद ३१ लाख रूपैयाँसमेत बरामद गरिएको सीआईबीले जनाएको छ।

प्रकरणमा उनीहरूअघि तीन जना चिनियाँ पक्राउ परेका थिए। तर, दुई जनालाई उनीहरूको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै सीआईबीले छाडेको थियो।

यससँगै यस प्रकरणमा सीआईबीको हिरासतमा रहने चिनियाँको संख्या मात्र फेरि तीन पुग्ने भएको छ। चिनियाँ, भारतीय र नेपालीसहित यो प्रकरणमा पक्राउ पर्नेको जम्मा संख्या २३ पुगेको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *